३१ जेष्ठ २०८३, आइतबार

नेपालमा मौसम पूर्वानुमान गर्न किन कठिन छ ?

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले नेपालको भौगोलिक विविधता, सिमित स्रोत साधन, आवश्यक जनशक्तिको कमीले मौसम पूर्वानुमान गर्न कठिन भएको बताएकी छन् । उनले मौसम पूर्वानुमान गर्न धेरै मेहनत गर्ने गरेको भन्दै कहिलेकाहीँ पूर्वानुमान नमिल्नुको कारण धेरै रहेको बताइन् । उनले नेपालको भौगोलिक विविधताका कारण नेपालको मौसम र जलवायुमा विविधता हुने बताइन् ।

उनले भनिन्, ‘जति धेरै भौगोलिक विविधता हुन्छ त्यती नै धेरै मौसम पूर्वानुमान पनि चुनौतीपूर्ण हुन्छ । विभिन्न तत्वहरुको उपस्थितिले वायुमण्डलमा भद्रगोल रुपमा रहेको हुन्छ । आज भएको नगन्य परिवर्तनले भोलि निकै ठूलो मौसममा परिवर्तन ल्याउन सक्छ ।’

उनले मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि नेपालमा भित्र्याउन नसकेको भन्दै भौतिक र प्राविधिक स्रोत साधनहरुको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको जानकारी दिइन् । ‘विश्वव्यापी रुपमा प्रविधिले फड्को मार्दै गर्दा मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि हामीले भित्र्याउन सकेका छैनौँ । नियमित रुपमा मौसम पूर्वानुमान गर्न आवश्यक जनशक्तिका साथै, भौतिक र प्राविधिक स्रोत साधनहरुको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको छ,’ उनले भनिन् ।

मौसम पूर्वानुमान नमिल्नुको अर्को कारण तथ्यांकको सिमितता रहेको भन्दै उनले नेपालमा उच्च पहाडी तथा हिमाली भू–भागहरुको नियमितरुपमा प्रर्याप्त रुपमा तथ्यांक संकलन गर्न नसकिंदा मौसम पूर्वानुमान थप जटिल बनेको बताइन् ।

उनले हाल नेपाल लगायत विश्वव्यापी रुपमा गणितीय मौसम पूर्वानुमान प्रणालीको प्रयोग गरी मौसम पूर्वानुमान गर्ने गरेको र तर नेपालको भूगोल सुहाउँदो एवम् आवश्यक अध्ययन अनुसन्धान नहुँदा साथै आवश्यक तथ्यांक प्रयोग गर्न नसक्दा नेपालको मौसम पूर्वानुमान जटिल बनेको बताइन् ।

वरिष्ठ मौसमविद् कँडेलले चुनौतीको बावजुत पनि मौसम पूर्वानुमानमा विश्वसनीय र भरपर्दो बनाउँदै लगिरहेको जानकारी गराइन् ।