७ असार २०८३, आइतबार

खोकनामा परम्परागत विधिबाट यसरी तयार हुन्छ तोरीको तेल (तस्वीरहरुसहित)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३१ जेठ । खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ ।

मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैलीले परिचित यो ठाउँ ‘तोरीको तेल’का कारण प्रख्यात छ । खेतीयोग्य जमिन मासिएर तोरी उत्पादनमा कमी आएपनि खोकनाले परम्परागत प्रविधिबाट तोरीको तेलको उत्पादन गरिरहेको छ ।

२८ वर्षदेखि परम्परागत तोरी मिल (कोल)मार्फत तेल उत्पादनमा सक्रिया खोकनाकी मीना डंगोलको दिनचर्या शुद्ध तोरीको तेल उत्पादन गर्नमै बितिरहेको छ ।

ललितपुर महानगरपालिका भित्र पर्ने खोकनामा मिल सञ्चालन गरिरहेकी उनी आफ्नै हातले तोरी भुटेर कोलमार्फत शुद्ध तोरीको तेल निकाल्न व्यस्त हुने गर्छिन् । ‘२८ वर्ष भयो यसरी काम गरेको । पहिले मामाहरुले गर्नुहुन्थ्यो अहिले हामीले सम्हालेका छौँ । परम्परा जोगाउनकै लागि भएपनि व्यवसाय छाड्न सकेका छैनौँ,’ उनले भनिन्, ‘दुई जना काम गर्ने छन् । उनीहरुसँगै दिनभर यतै व्यस्त हुन्छु । खाना र खाजासहित काम गर्नेलाई दिनको एक हजार रुपैयाँ दिनुपर्छ । खर्च धेरै छ नि ।’

मीनाको एउटै उद्देश्य छ– मिल कायमै रहोस् यसको चलन नहटेस् । आफ्नो परम्परा र संस्कृति जोगाउनकै लागि भएपनि जसोतसो मिल संचालन गर्नुपरेको उनले बताइन् ।

‘यसबाट खासै फाइदा छैन् । परम्परा र संस्कृति जोगाउनकै लागि भएपनि काम गरिरहेका छौँ । श्रीमानले बेलामौका सहयोग गर्नुहुन्छ । तेल बजारसम्म पुर्‍याउन छोराछोरी पनि सहयोग गर्छन् । तर तोरी पाउनै मुस्किल छ । उत्पादन हुनै छाड्यो,’ उनले भनिन्, ‘आफ्नै जग्गामा उत्पादन भएको तोरीबाट तेल उत्पादन गरेका हौं । तेल पिसेर रहेको पिना खेतबारीमै हाल्छौं र माटो मलिलो बनाउँछौँ, बाँकी रहेको बिक्री पनि हुन्छ ।’

तेल बनाँउदा सुरुमा तोरीलाई छानेर सफा गर्नुपर्ने, मेसिनमा राखेर फुटाउनुपर्ने र ठूलो हाँडीमा राखेर भुटेर ठूलो झोलामा राखेर परम्परागत काठको हत्थाको सहायतामा काठका दुईवटा मुडाले च्यापेर तेल निकाल्ने गरेको उनले जानकारी दिइन् । ‘यही परम्परागत कोलमा राखेर तेल निकालिने भएकाले मिठो बास्ना आएको हो । जसका कारण खोकनाको तेलका रुपमा लोकप्रिय भएको हो,’ उनले अगाडि भनिन्, ‘जति नै आधुनिक मेसिनहरु आएपनि परम्परागत रुपमा काम गर्दा बेग्लै आनन्द आउँदो रहेछ, गुणस्तर पनि जोगिने रहेछ ।’

आफ्नै मिलबाट उत्पादित तेल दिनमा ५० लिटरसम्म बिक्री गरेको मीनाको अनुभव छ । ‘कुनै दिन ५० लिटरपनि जान्छ कुनै दिन सात लिटर मात्रै बिक्री हुन्छ । व्यापारको कुनै टुंगो हुँदैन्,’ उनले भनिन् । पहिला पहिला तोरी सस्तो भएकाले तेलको व्यापार पनि राम्रो हुने गरेको तर हाल मंहगो भएकाले विगतको जस्तो व्यापार हुन नसकेको उनको गुनासो छ ।

मीनाका अनुसार मेसिनबाट उत्पादन गरिएको तेल छिट्टै बिग्रिने गरेकाले परम्परागत कोलकै प्रयोग गरिएको हो । ‘तोरी महंगो भएपछि तेल महंगो हुने भएकाले ग्राहकले किन्न मान्दैनन् । तर पनि आफूले जानेको सीप यही भएकाले निरन्तरता दिएको हुँ । तेल लिटरको बट्टा लिएर आउनेलाई ३६० र बट्टा नलिई आउनेलाई ३७० लिने गरेको छु । महिनामा सरदर पाँचसय लिटर सम्मको व्यापार हुन्छ,’ उनले भनिन् ।

नयाँ प्रविधिका मेसिनहरुबाट तेल निकाल्दा बास्ना नआउने गरेकाले पुरानै काठका औजारहरु प्रयोग गर्ने गरेको बताइन् । ‘काठले च्यापेर निकालिएको तेल वर्षौंसम्म प्रयोग गर्दापनि हुन्छ, बिग्रिँदैन,’ उनले सुनाइन् ।