२८ जेष्ठ २०८३, बिहिबार

जनताको असन्तुष्टिलाई आधार मानेर मुलुकलाई पुनः निरङ्कुशतातर्फ फर्काउन प्रयास भयो : प्रचण्ड 

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको असन्तुष्टिलाई देखाएर देशलाई निरंकुशतातर्फ फकाउने कोशिस भइरहेको बताएका छन् ।

म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गर्दै उनले केही तत्व मुलुकलाई पुनः निरङ्कुशतातर्फ फर्काउन खोजिरहेका बताएका हुन् ।

“राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा जनतामा केही हदसम्म असन्तुष्टि बढ्ने गरेको छ । जनताको असन्तुष्टिलाई आधार मानेर केही तत्व मुलुकलाई पुनः निरङ्कुशतातर्फ फर्काउन खोजिरहेका छन् । यसका विरुद्ध सबै गणतन्त्र पक्ष एकजुट हुनु जरुरी छ”, उनले भने, “जनतामा गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र हो भन्ने चेतना जागिसकेका देश अहिलेको व्यवस्थाबाट पछाडि फर्कन सक्ने अवस्था छैन ।”

‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राखेका छन् । म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गर्दै उनले प्राकृतिक स्रोतलाई उचित व्यवस्थापन गरी पर्यटन प्रवद्र्धनको आधार बनाउन सकिने सम्भावना रहेको बताएका हुन् ।

“चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी करिडोर सडकको अवस्था, प्राकृतिक स्रोतको सम्भावना र परिचालनका विषयमा छलफल, पूर्वाधार विकासको आवश्यकता तथा जनताका समस्या बुझ्न पोखराबाट सडक मार्ग हुँदै मुस्ताङ जाने निर्णय गरेको हुँ”, उनले भने, “म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका मुहानलाई संरक्षण, प्रवद्र्धन र व्यवस्थित गरेर स्वास्थ्य पर्यटनको विकास गराउन सकिने सम्भावना देखेको छु ।”

कालीगण्डकी र आसपासका नदीहरूमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा रोजगारीका अवसर सृजना हुनुका साथै हिमाल, झरना र रमणीय दृष्यावलोकनमा पर्यटकको आकर्षण बढाउन प्राकृतिक सम्पदाको पहिचान, प्रवद्र्धन र विकास गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । पर्यटन प्रवद्र्धनमार्फत नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ ।

भुरुङ–तातोपानी कुण्डमा स्नान गरी अध्यक्ष दाहालले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, पूर्वअध्यक्ष डमबहादुर पुन, स्थानीयवासीलगायत नेताकार्यकर्तासँग अन्तरक्रिया गरेका थिए ।

अन्तरक्रियाका क्रममा स्थानीयवासीले बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रण तथा कटान रोकथाम गरेर सुरक्षित रूपमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन माग गरेका थिए ।

अध्यक्ष दाहालले रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन, पहिरो तथा नदी कटान रोकथाम गर्न र कोरला नाका व्यापारिक रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन् । देशका विभिन्न ठाउँमा पुग्दा जनताले सुशासन, समृद्धि र राजनीतिक स्थायित्व चाहेको बताउँदै उनले सबैको सहकार्य र समन्वयमा अहिलेको व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने धारणा राखे ।