
काठमाडौं, २१ जेठ । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मीहरू राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेपछि पुनः खटाइने बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए । सरकारले केही दिनअघि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको थियो । उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने वित्तिकै पुनः खटाइने स्पष्ट पारे ।
मन्त्री लेखकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, सङ्घीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए । संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा कोही पनि नलाग्न चेतावनी दिए ।
गृहमन्त्री लेखकले गणतन्त्र, संविधान फाल्न नमिल्ने र फाल्न नहुने बताए ।








प्रतिक्रिया