
नुवाकोट, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सार्वजनिक कार्यक्रममा प्रश्न सोध्न खोज्ने एक युवक पक्राउ परेका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं. २ बोहोरेका जनार्दन अधिकारी शनिबार बागेश्वरी माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा पक्राउ परेका हुन् ।
घटना शनिबार दिउँसो सूर्यगढी गाउँपालिका वडा नं. ३ चोकदेस्थित बागेश्वरी माध्यमिक विद्यालयको हो । विद्यालयको स्थापनाको ७५औं वार्षिकोत्सवको अवसरमा आयोजित हिरक जयन्ती समारोहमा सहभागी भएका प्रचण्डले आफ्नो मन्तव्य राखिरहेको बेलामा दर्शकदिर्घामा बसिरहेका जनार्दनले उठेर बोले, ‘मेरो तपाईंसँग एउटा प्रश्न छ ?’
प्रचण्डले तत्काल जवाफ दिए, ‘यो समय सवालजवाफ गर्ने होइन । तपाईं अघि तल (विदुर)मा भएको पत्रकार सम्मेलनमा आउनु भएन, प्रश्न त त्यही सोध्न पाइन्थ्यो नि !’ प्रचण्डले यति भनिसक्दा नसक्दै उनका पीएसओले जनार्दनलाई कार्यक्रमबाट बाहिर जान निर्देशन दिए । केहीबेरमै प्रहरी आएर उनलाई पक्राउ गरी लगे ।
उनलाई कार्यक्रमबाट करिब पाँच मिटर टाढा लैजाने बित्तिकै केही व्यक्तिहरूले उनीमाथि हातपात समेत गरे । उनले प्रहरीकै घेरामा बसेर केही मुक्काको सामना गर्नुपरेको थियो । यस्तो घटना भइरहँदा पनि कार्यक्रमका आयोजकले प्रचण्डलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरे र उद्घोषकले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको घोषणा गरे ।
दर्शकदिर्घाबाट धेरैको आवाज आयो,‘प्रश्न राख्छु भन्दैमा हातपात गर्न र लछारपछार गर्न त पाइँदैनन नि हो, छ ?’
बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीले घटनाको आलोचना गर्दै प्रश्न सोध्छु भन्दैमा हातपात गर्नु गलत भएको बताए ।
प्रहरीले पक्राउ परेका जनार्दनको मोटरसाइकल समेत नियन्त्रणमा लिएको थियो । सोधपुछपछि प्रहरीले उनलाई रिहा गरेको छ ।








प्रतिक्रिया