
काठमाडौं, १७ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले न्यायालयले गर्ने काम विवादमुक्त हुनुपर्ने बताएका छन् ।
नेपालको न्यायिक क्षेत्रसँग जोडेर विभिन्न मिथक प्रयोग हुने गरेको बताउँदै पोखरेलले न्यायालयका क्रियाकलापले ती भाष्यलाई प्रबल बनाउँदै गएको उनको धारणा छ । यस्ता विषयमा गम्भीर हुन महासचिव पोखरेले आग्रह गरेका हुन् ।
‘न्यायका नौ सिङ, दोषी चस्मा, अन्धा कानुनजस्ता मिथकबाट नेपालको न्यायिक क्षेत्र ग्रस्त छ भन्ने भाष्य प्रबल बन्दै छ, गम्भीर बनौँ’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन् ।
इँटा भट्टामा ज्युँदै मानिसहरूलाई जलाएर हत्या गर्ने मोहमद अफ्ताद आलमलाई सफाइ दिएपछि न्यायालयको तीव्र आलोचना भइरहेको छ ।
२०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम विस्फोटनमा परी घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा आलमलाई जिल्ला अदालत गौर रौतहटले ०८१ वैशाख १४ गते जन्मकैदको फैसला सुनाएको थियो । फैसलापछि जेलमा रहेका आलमलाई जिल्ला अदालत रौतहटको फैसला उल्टाएर उच्च अदालत जनकपुर अस्थायी इजलासले सफाइ दिने फैसला सुनाएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिने फैसला गरेको थियो । ती न्यायाधीशहरू विरुद्ध पनि न्याय परिषद्मा उजुरी परेको छ ।








प्रतिक्रिया