
काठमाडौं, १७ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजका हरेक क्षेत्र माथि प्रश्न उठ्ने गरेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको दोस्रो केन्द्रीय बैठक तथा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले यदि सबै चिज राम्रो भएका भए प्रश्न नउठ्ने बताए ।
प्रश्न उठ्नको अर्थ ती क्षेत्रमा कमजोरी भएका र त्यसलाई सुधारेर अघि बढ्नु पर्ने महासचिव पोखरेलको धारणा छ । ‘जब समस्या आउँछ, तब प्रश्न उठ्ने गर्दछ, प्रश्न उठेपछि जवाफ दिनु पर्दछ, त्यसो जवाफ कहिले प्रतिक्रियात्मक हुने गर्दछ’, पोखरेलले भने । उनले प्रश्नबाट भाग्न नसकिने बताए । हरेकले उठेका प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ छ । त्यस प्रश्न कहिले राजनीतिक नेतृत्वलाई, कहिले कर्मचारीलाई, कहिले सामाजिक अगुवालाई आउने गरेको बताउँदै उनले त्यसको जवाफ दिनैपर्ने बताए । अहिले सामाजिक क्षेत्रबाट उठ्ने प्रश्नको निशाना राजनीतिक क्षेत्र र राजनीतिक नेतृत्व हुने गरेको उनले बताए । अहिले कतिपय प्रश्नहरू नकारात्मक कोणबाट उठ्ने गरेको उनको भनाइ छ ।
राजनीतिक नेतृत्वमाथि नकारात्मक प्रश्न र अनुचित प्रहार हुँदा अन्य क्षेत्र मौन बस्ने गरेको बताउँदै उनले यसले विस्तारै सबै पक्षमाथि प्रहार हुने कुरा नबिर्सन आग्रह गरे । यस्ता नकारात्मक प्रश्नका जवाफ सामूहिक हिसाबले नदिने हो भने भोलि देश बरबादीतर्फ जाने उनको धारणा छ ।
राज्य सञ्चालनमा राजनीतिक नेतृत्व र कर्मचारी प्रशासन बीच तादम्यता नै नमिलेको उनले बताए । नेपालको निजामती प्रशासनले अहिलेको परिवर्तनलाई महसुस नै गर्न नसकेको उनको भनाई छ । अहिले पनि कर्मचारीतन्त्र अधिकार जति माथि नै राख्न पाए हालिमुहाली गर्न पाइन्छ भन्ने मनस्थितिमा रहेका उनले प्रष्ट पारे ।
केन्द्रीय प्रशासन सकारात्मक भएको भए निजामती कर्मचारी ऐन, प्रहरी ऐन, शिक्षा ऐन लगायतका ऐनहरु आउन यति ढिलो नहुने उनले बताए । दोष राजनीतिक नेतृत्व र सांसदहरुलाई दिए पनि कर्मचारी प्रशासनले अधिकार तल दिन नचाहाँदा यी ऐन आउन ढिलाई भएको उनको धारणा छ । ‘केन्द्रिकृत प्रशासनिक नेतृत्व नै यो विलम्बको कारण हो’, महासचिव पोखरेलले भने ।









प्रतिक्रिया