
काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरु आन्दोलनबाटै आएकाहरु भएका स्मरण गराएका छन् ।
राप्रपा अध्यक्ष लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश छोडेर भाग्न हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने भनी दिएको अभिव्यक्तिलाई लिएर थापाले जवाफ फर्काएका हुन् ।
उनले जसले आन्दोलनमा लागे बापत आफूलाई दशकौं बिना कसुर, बिना मुद्दा कालकोठरीमा राख्यो, अङ्भङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरुले आन्दोलन सफल भएपछि– ‘फर्गिव नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ नभनेका स्मरण गराए ।
पोलिट्ब्युरो सदस्य थापाले लिङदेनलाई तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरुले कसरी बुझौं ? भन्दै प्रश्नसमेत गरेका हुन् ।
थापाले लेखेका छन्, ‘धेरै ठूलो कुरा गर्नु भएछ, जानकारी भयो । बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकोप्टरको समेत व्यवस्थाको कुरा गर्नुभएछ, थाहा भयो । अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरू आन्दोलनबाटै आएकाहरू हुन्, जसले आन्दोलनमा लागे बापत आफूलाई दशकौं बिना कसुर, बिना मुद्दा कालकोठरीमा राख्यो, अङ्भङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरूले आन्दोलन सफल भएपछि– ‘फर्गिभ नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ भनेनन् । तपाईंको हेलिकोप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौं ? प्रतिस्पर्धा–सहअस्तित्व – सहकार्यको रुपमा कि, ‘कि तँ छैनस्–कि म छैन’को निषेधकारी दृष्टिकोणमा ?,’ ।
थापाले लिङ्देनलाई विचार गरेर उक्त प्रस्तावबारे पुनः सोच्न आग्रह गरेका छन् । ‘एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जनसुकै शर्त मञ्जुर छ । जनताले पराजित गरेकाहरू संविधानको धारा २७० जपिरहनु भएको छ, तपाईंको त उम्रिदै होइन, नउम्रिदै तीन पात देखिँदै छ ।’








प्रतिक्रिया