
काठमाडौं, ३१ बैशाख । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । बालुवाटारमा जनसंगठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यवसायीक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे ।
‘झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्’, ओलीले भने ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता, र श्रम अधिकार जस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए ।
यसले चौतारी आबद्ध पत्रकारहरू वैचारिक रूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने उनको भनाइ छ । ‘यो वर्ष हामीले देशभरिका पत्रकारलाई प्रत्यक्ष प्रशिक्षण दिने लक्ष्य लिएका छौँ, प्रशिक्षणले पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्नेछ, जिल्ला शाखाले कम्तीमा तीन वटा प्रशिक्षण कार्यक्रम राख्ने छन्’, उनले भने ।
कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया