
काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्डको यसअघिको कार्यकालमा विभिन्न व्यक्तिहरूलाई पनि हटाइएको स्मरण गराउँदै प्रतिपश्न पनि गरेका हुन् ।
उनले भने, ‘म कमरेड प्रचण्डलाई भन्न चाहान्छु,तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयोरु,’ भट्टराईले भने, ‘अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो। हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो। अनि अर्को मुख्य सचिव ल्याउनु थियो। अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यस्तो चिन्ता किनरु तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छरुयो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई।’
उनले प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, स्वार्थ समूह र विचौलियाले बनाएको भनी गरेको टिप्पणीप्रति आपत्ति जनाए । प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भन्दा प्राकृतिक र ओली सोही धाराअनुसार प्रधानमन्त्री बन्दा अप्राकृतिक भन्ने हुन नसक्ने उनको दाबी छ । उनले प्रचण्डलाई सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गरे ।
‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषणमा पनि र यहाँपनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, विचौलिया । मलाई के लाग्छ भनेदेखि मेरो यतिमात्रै भनाइ छ–सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने प्रयास नहोस् । धारा ७६ (२) अनुसार बनेको पुष्पकमल दाहालजीको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने ? यो कुन संविधानबाट उहाँले ब्याख्या गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने ।








प्रतिक्रिया