२२ असार २०८३, सोमबार

‘सरकार उद्यम गर्ने युवाको साथमा, ६६१ परियोजना स्टार्टअप कर्जाका लागि छानिए’

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्यम गर्ने युवाको साथमा रहेको बताएका छन् । उद्यमशीलता प्रवर्धनको लागि सरकारले उद्यमीलाई स्टार्टअप कर्जाको कार्यक्रम ल्याएको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । यस आर्थिक वर्षमा युवाले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि छनोट भएको सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिए ।

उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरूप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको प्रधानमन्त्री ओलीले बताए । ‘यस आर्थिक वर्षमा युवाहरूले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि छनौट भएका छन्, उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरूप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै ६ सय ६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको छ’, प्रधानमन्त्री ओलीले भने ।

यो परियोजनामा सहभागी हुन अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १ सय ५८ उद्यमीले दर्ता गरेका प्रस्ताव मध्येबाट १ हजार ३ सय १४ उद्यमीले परियोजनाको प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनोट भएका हुन् । उनीहरूले २५ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।

‘यसले उद्यमशीलतालाई प्रवर्द्धन गर्न मद्दत पुग्नेछ’, प्रधानमन्त्री ओलीले भने ।