
गैंडाकोट, १९ बैशाख । डा. डीबी सिंह स्मृति फाउण्डेशन र प्रकृति–मानव केन्द्रीत जन अभियान, नेपालको संयुक्त आयोजनामा गैंडाकोट–४ सहज सामाजिक विकास कार्यालयमा डा. डीबी सिंह छैठौं स्मृति कार्यक्रम सम्पन्न भएको छ ।
सिंहले समाजिक बैचारिक क्षेत्रमा दिएको योगदानको सन्दर्भमा आयोजित अन्तरक्रिया फाउण्डेशनका अध्यक्ष सन्त बहादुर घिसिङको अध्यक्षता र केन्द्रीय सचिब डा. माया गिरीको संचालनमा सम्पन्न भएको हो । सिंहकी जीवन संगिनी सावित्री रानाको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा सामाजिक विकासका तीन मौलिक सिद्धान्तहरु कर्पोरेट पूँजीवाद वा उदारवादी सिद्धान्त, साम्यवादी वा मार्क्सवादी सिद्धान्त, प्रकृति–मानव केन्द्रीत सिद्धान्तमा बहस भएको थियो । कार्यक्रममा यी तीन सिद्धान्तको तुलनात्मक अध्ययन सम्बन्धी अवधारणापत्र अभियानका केन्द्रीय अध्यक्ष बिन्दुराज सापकोटाले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सुरूवातमै सिंह सुरूमा मार्क्सवादी रहेको र पछिल्लो समय भारतीय प्रकृति चिन्तक वाइपी सराफ्बाट दिक्षित भै यो बिचारबाट अभिप्रेरित भएको विचार राख्दै कार्यपत्र सुरू गरिएको थियो । कार्यक्रममा डा. डीवी सिंह, आर.पी सिंह लगायत दिवंगत ज्ञातअज्ञात अभियन्ताहरुप्रति मौन धारण गर्नुका साथै सिंहको फोटोमा माल्यार्पण पनि गरिएको थियो ।
प्रकृति–मानव केन्द्रीत जन अभियानका केन्द्रीय सल्लाहकार किशन शर्मा गैरेले यो अभियानको औचित्य र डीवी सिंहको सार्थक जीवनको बारेमा आफ्ना बिचार राखे । अध्यक्ष सापकोटाको अवधारणापत्र माथि १८ जनाले आफनो टिप्पणी राखेका थिए । धारणा राख्नेहरूमा संविधानसभा सदस्य कृष्ण प्रसाद पौडेल, वरिष्ठ साहित्यकार रेशम बिरही, मार्क्सवादी चिन्तक धनञ्जय शर्मा, पूर्व सांसद भीम बहादुर श्रेष्ठ, जन अभियानका पूर्व केन्द्रीय सदस्य लक्ष्मण पुरी लगायत रहेका थिए ।
कार्यक्रममा गाजियावाद भारतका अभियन्ता ओम प्रकाश सराफले सिंहको स्मृतिमा पठाएको लिखित श्रद्धाञ्जली मन्तव्य वाचन गरेर सुनाइएको थियो भने स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य लोक प्रसाद भुर्तेलले राखेका हुन् ।








प्रतिक्रिया