२९ असार २०८३, सोमबार

प्रचण्डले गरे नयाँ क्रान्ति गर्ने उद्घोष

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

बिहीबार एक सय ३६ औँ मे दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरुमा फेरी एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए ।

उनले भने,‘तपाईहरु राम्रो तयारीमा बस्नुहोस् । हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नैपर्छ । एकचोटी क्रान्ति गर्ने छौं । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ । तर राज्य र सरकारले यदि शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजिए दुनियाँका कुनै तागतले रोक्न सक्दैन ।’

उनले श्रमिक वर्ग इतिहासको निर्माता र समाज विकासको प्रणेता भएको उल्लेख गरे । उनले भने,‘श्रमसँग श्रमिक जोडिएका छन् । हाम्रो विश्वकाजेजति प्रगति भएको छ त्यो भौतिक वा अन्य सबैखाले प्राविधिक प्रगति मजदुरहरुको मेहनतको बलमा नै भएको छ । त्यसैले इतिहासको निर्माता र समाज विकासको प्रणेता पनि श्रम र श्रमिकहरु नै हुन् ।’

अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए ।

उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष प्रचण्डले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे ।
उनले राम्रो काम गर्दागर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारिएको स्मरण गरे ।