२७ असार २०८३, शनिबार

राजनीतिक दलहरु खत्तम भन्ने भाष्य निर्दलीयहरुको धन्दा हो : शक्ति बस्नेत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ वैशाख । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले दलविहीनहरुले गलत मनसायसहित राजनीतिक दलहरु खत्तम भन्ने भाष्य स्थापित गर्ने कोशिस गरिरहेको बताएका छन् । दलहरुका विकल्प हुन्छन्, निर्विकल्प छैनन् यसैले सबै गलत भन्ने भाष्यबाट मुलुकलाई बचाएर लैजाउनु पर्ने नेता बस्नेतको जिकिर छ ।

आज हेटौंडाको बस्तीपुरमा आयोजित नेपाल शैक्षिक स्वयंसेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘राजनीतिक दल र लोकतन्त्र आपसमा अन्तरसम्बन्धित छन् । दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यसैले पनि यसबाट सचेत हॅुदै दलभित्रका कमजोरीलाई स्वीकार्दै, सच्याउॅदै अगाडी बढ्नु पर्छ ।’ सरकारका पछिल्ला कामकारवाहीप्रति लक्षित गर्दै बस्नेतले सरकार बिचौलियाहरुको हितमा निर्भर रहेको समेत टिप्पणी गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खेलकुद महासंघका फ्याक्सन ईन्चार्ज दिपक कोइरालाले शैक्षिक स्वयंसेवीहरुले आफूलाई समाजवादी सेनाको रुपमा विकास गर्नुपर्ने बताए ।

बागमती प्रदेशका पूर्वमन्त्री कुमारी मोक्तानले समाजवाद र सुशासनको बाहक संगठनको रुपमा सम्मेलनले निर्देशित गर्ने विश्वास व्यक्त गरिन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज विजय गौतमले विचारविहीन युवा भनेको लगाम बिनाको घोडाजस्तै भएकोले युवाहरुलाई सही विचार र दृष्टिकोणयुक्त बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे।

नेपाल शैक्षिक स्वयम्सेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिका अध्यक्ष केशव महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला सचिव बीरबहादुर घलान लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनले केशव महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा बबिता कटुवाल, किरण गिरी, टेकबहादुर थापा, महासचिवमा भीमराज खड्का, सचिवमा सिता नेपाली, शिवकुमार त्वत, बिकेन्द्र महर्जन, उपेन्द्र घिमिरे, ईश्वर लामिछाने, भूमिका मगर, कोषाध्यक्षमा दामोदर बस्नेत लगायत सदस्यहरु निर्वाचित गरेको छ । सम्मेलनमा देशैभरीबाट करिब १०० जना प्रतिनिधि सहभागी भएको संगठनका बागमती प्रदेश अध्यक्ष ईश्वर लामिछानेले बताए ।