२३ असार २०८३, मंगलबार

तीनमहिने वडा केन्द्रीत अभियानले गाउँगाउँमा पार्टी संगठनलाई थप सुदृढ बनाएको निष्कर्ष

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) कर्णालीले तीन महिने वडा केन्द्रीत पार्टी निर्माण अभियानको काम सकेको छ ।

गत माघदेखि चैत्र मसान्तसम्म सञ्चालन भएको अभियानले कर्णालीका गाउँ गाउँमा पार्टी संगठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको हो ।

कर्णाली प्रदेश इञ्चार्ज गोरख बोगटीले अभियान अवधिमा आफ्नो कार्यक्षेत्रमा भए गरेका कामको विस्तृत लिखित प्रतिवेदन पार्टी महासचिव शंकर पोखरेललाई केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बुझाएका छन् ।

महासचिव पोखरेललाई प्रतिवेदन बुझाउँदै प्रदेश इन्चार्ज बोगटीले अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त जानकारी गराएका थिए । उनका अनुसार कर्णाली प्रदेशमा सञ्चालन भएको अभियानले पार्टीका स्थानीय कमिटीहरूलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । अभियानका क्रममा नयाँ सदस्यहरूलाई पार्टीमा आकर्षित गर्नुका साथै कार्यकर्ताहरूलाई प्रशिक्षण र वैचारिक स्पष्टता प्रदान गर्ने काम पनि प्रभावकारी रूपमा सम्पन्न भएको हो ।

केन्द्रीय सदस्यहरू भूगोल जिम्मेवारीमा खटिएर गाउँ तहसम्म पुगी कार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गरेका छन् । यसले पार्टी र जनताबिचको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाइ छ । अभियानका क्रममा स्थानीय स्तरका समस्या र आवश्यकताहरू पहिचान गरी पार्टीको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न महत्त्वपूर्ण सुझावहरू सङ्कलन गरिएको उनले जानकारी दिए ।

महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश इञ्चार्जबाट प्राप्त प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्याङ्कन गर्ने र आवश्यक निर्देशन दिने बताउनुभयो । अभियानले आगामी दिनमा कर्णाली प्रदेशमा पार्टीको संगठनलाई थप क्रियाशील र बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।