१ श्रावण २०८३, शुक्रबार

मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरु सबै सफल थिए : विद्यादेवी भण्डारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि एमालेले नपाएको बताएकी छन् ।

शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारी नेतृत्वको सरकार सफल रहेको भन्दै यस्तो धारणा राखेकी हुन् ।

उनले भनिन्,‘मनमोहन अधिकारी नेतृत्वमा गठित एमालेको सरकार सामाजिक न्याय, सुशासन, पारदर्शीता र समावेशीताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । त्यस सरकारले अघि सारेका आफ्नो गाउँ आफैं बनाउ, जेष्ठ नागरिकहरुको लागि सम्मानस्वरुप वृद्धभत्ता जस्ता कार्यक्रमले राष्ट्र निमार्णमा सफल भएको थियो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि एमालेले पाइरहेको छ भन्दा अतिसयुक्ति नहोला ।’

पूर्वराष्ट्रपति भण्डारीले जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माणका लागि मनमोहन अधिकारीको जस्तो प्रगतिशील सोच, संकल्प र व्यवहार हुनुपर्ने बताइन् ।

‘मनमोहन अधिकारीको जस्तो प्रगतिशील सोच, संकल्प र व्यवहार भएका नेताबाट प्रेरणा लिई मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका दिशामाहामी सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ । यसले एकातिर कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्ने आधार तयार गर्छ भने अर्कातिर जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण हुनेछ ।’

उनले मनमोहन स्मृति प्रतिष्ठानले मुलुकमा शिक्षाको विकास तथा सामाजिक क्रियाकलापका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताइन् ।