२७ असार २०८३, शनिबार

‘यूथ सेलिब्रेशन’ को तयारी पूरा, एकलाख युवा उतार्ने योजना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पूरा भएको जनाएको छ ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दै छ । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू आउने क्रम सुरु भइसकेको बताएका छन् ।

‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ, यो दिनलाई युवाले लोकतन्त्रको उत्सवको रूपमा मनाउने छन्’, उन्ले भने । कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उनले जानकारी दिए । भोलिको कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने उनले जानकारी दिए ।

भोलिको दिन युवाले देश बनाउने सङ्कल्प गर्ने दिन भएको पनि उनको भनाइ छ । यो देश युवाले नै बनाउने र बनाउनु पर्ने उनले धारणा राखे । भोलिको कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्ने छन् । बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने छन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियु अध्यक्ष समिक बडाल युवा तथा विद्यार्थी नेताहरू आनन्द सिंह, विष्णु पोखरेले अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतले धारणा राख्नेछन् ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ ।

भोलिको कार्यक्रम नितान्त फरक कार्यक्रम हुने आयोजकले जनाको छ । कार्यक्रमको मञ्च आज बेलुकासम्म तयार हुने बताइएको छ । भोलिको कार्यक्रमको मञ्च समेत विशेष हुने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा काठमाडौं उपमहानगरपालिका प्रमुख सुनिता डङ्गोल तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि सहभागी थिए ।