१६ असार २०८३, मंगलबार

एमालेकै कारण ३३ प्रतिशत बढी महिला सहभागिता स्थापित भयो : शंकर पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गतिशील समाज निर्माणको लागि तीन पुस्ताको संयोजन हुन आवश्यक रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय युवा कमिटीद्वारा आयोजित दोस्रो राष्ट्रिय युवा महिला भेलालाई बुधबार च्यासलमा सम्बोधन गर्दै पोखरेलले समाज निर्माणका लागि पाका, मझौला र युवा पुस्ताको संयोजन आवश्यक रहेको बताएका हुन् । ‘हामी तीन पुस्ताको संयोजनको आधारमा गतिशील समाज निर्माण हुन्छ भन्ने मान्यता राख्दै आएका छौँ’, उनले भने ।

भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आउँदा एमालेमा युवा नै युवा भएका उनको भनाइ छ । त्यस बेला पाका मानिसहरूलाई पार्टीमा जोड्न नेकपा मार्क्सवादीसँग पार्टी एकता गरेको उनले स्मरण गरे । अहिले त्यसको ठिक विपरीत आज पार्टीमा पाका पुस्ताको बाहुल्यता रहेको र युवा पुस्तालाई जोड्नु पर्ने अवस्था रहेको पोखरेलले बताए ।

‘प्रतिस्पर्धाको राजनीतिमा यो राम्रो लक्षण होइन, प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन युवालाई जोड्नु पर्छ, पार्टीको राजनीतिमा युवालाई जोड्न सबै लाग्नु पर्दछ’, उनले भने ।

उनले सबै पालिका र वडास्तरसम्म अनेमसंघसँगै युवा महिलालाई जोड्नु पर्ने बताएका छन् । देश भरका युवालाई पार्टीमा जोड्न आवश्यक रहेको बताउँदै उनले पार्टीमा महिला सदस्यको सहभागिता पनि बढाउनु पर्नेमा जोड दिए । युवा सहभागिता विकासकै लागि एमालेले देशै भरका युवालाई सहभागी गराएर लोकतन्त्र प्राप्तिका दिन भोली युवा सेलिब्रेसन गर्न लागिएको उनको भनाइ छ ।

भोलिको कार्यक्रम युवा सहभागिताको हेर्न लायकको कार्यक्रम हुने दावी गर्दै उनले भोलिको कार्यक्रमबाट अब देश युवाले बनाउँछन् र बनाउन सक्छन् भन्ने सन्देश दिनु पर्ने स्पष्ट पारे । एमालेले नेपालमा महिला सहभागिता वृद्धिका लागि निर्णायक भूमिका खेलेको उनले बताएका छन् । एमालेकै कारण राज्यका निकायमा ३३ प्रतिशत बढी महिला सहभागिता स्थापित भएको उनले स्पष्ट पारे । एमाले महिला सहभागिता मात्र होइन नेतृत्वदायी स्थानमा महिलालाई स्थापित गराउने पनि पहिलो पार्टी भएको उनको धारणा छ । अहिले हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि भएको उनको धारणा छ ।

पछिल्लो समय राजावादीको नाममा सामन्तवादी मण्डलेहरू लोकतन्त्रले के दियो भन्दै टाउको उठाउन लागेका उनले बताए । उनले उनीहरूलाई आफ्नो विगत हेर्न सुझाव दिए ।