
काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।
जनताले जितेको दिन वैशाख ११ गते पार्टीले आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रमको तयारीका सन्दर्भमा सोमबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको बताएका हुन् । कार्यक्रममा राष्ट्रव्यापीहरूमा युवाको सहभागिता गराइने उनले जानकारी दिए ।
पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्षहरूका साथै जनप्रतिनिधिहरूको सहभागिता रहेको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टीले तय गरेको कार्यक्रमलाई ऐतिहासिक बनाउन देशभरका युवाको सहभागिता आवश्यक रहेकाले राजधानी आउने व्यवस्थित तयारी गर्न निर्देशन दिएका छन् ।
उनले यूथ सेलिब्रेसनमा सबै जनप्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन पनि निर्देश गर्नुभयो । स्थानीय युवालाई काठमाडौं ल्याउने काममा पनि अगुवाइ गर्न पोखरेलले जनप्रतिनिधिलाई आग्रह गर्दै पार्टीले हरेक वडाबाट कम्तीमा दुईजना युवाको सहभागिता होस् र त्यसमध्ये सम्भव भएसम्म एक जना महिला सहभागी गराउने निर्णय गरेको जानकारी दिनुभएको छ । युवालाई राजनीतिमा जोड्न यो कार्यक्रम महत्त्वपूर्ण हुने उनको धारणा छ ।
यतिबेला प्रतिगामी तथा प्रतिगमनकारी तत्त्वले वर्तमान शासन व्यवस्था र राजनीतिक परिवर्तनप्रति अनास्था र वितृष्णा पैदा गर्ने दुष्प्रयास गरिरहेका उनले बताए । नेकपा एमाले र यसको नेतृत्वमाथि सङ्गठित र नियोजित रूपमा प्रहार भइरहेको जानकारी दिँदै पोखरेलले गणतन्त्र रक्षाका लागि पार्टी सुरु गरेको सचेतना कार्यक्रमबाट प्रतिगामी हर्कहरू केही मात्रामा निस्तेज भएको धारणा राखे ।
वैशाख ११ गते हुने यूथ सेलिब्रेसनबाट राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा र प्रतिगमनकारी हर्कत सदाका लागि समाप्त पार्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । सो कार्यक्रमबाट युवालाई भविष्यप्रति आशावादी बनाउन चाहेको उनले बताए ।








प्रतिक्रिया