३१ असार २०८३, बुधबार

बैशाख ११ लाई बिर्साउन संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै प्रहार भइरहेको छ : राजन भट्टराई

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) ले बैशाख ११ गते लोकतन्त्र दिवसको दिन काठमाडौंमा आयोजना गर्ने जनताले जितेको दिन युवा सेलिब्रेस कार्यक्रमको तयारीमा पार्टीको वाग्मती प्रदेश विशेष रूपले जुटेको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न तयारीका काम भइरहेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले जानकारी दिए । ‘पार्टी सचिवालय बैठकले कार्यक्रम गर्ने निर्णय गरेपछि हामीले त्यही अनुसार वडातहसम्म सर्कुलर गरेका छौँ, प्रत्येक वडाबाट पार्टीले तोकको सङ्ख्यामा युवाहरूको उपस्थिति गराउनको लागि हामीले सर्कुलर गरिसकेका छौँ’, उनले भने ।

पालिकाका इञ्चार्ज वाग्मती प्रदेश कमिटीका सदस्यहरू हुने भएकाले १ सय १९ वटै पालिकाका इञ्चार्जहरुलाई पनि जिम्मेवारी दिइएको उनले बताए । प्रत्येक वडाबाट तोकिएका युवा ल्याउने जिम्मेवारी पालिका तहको नेतृत्वले गर्ने भट्टराईले जानकारी दिएका छन् । समग्र जिल्लाको लागि जिल्ला कमिटी र जिल्लाका इञ्चार्जले जिम्मेवारी लिने उनले बताए । यो कामको तयारी कसरी भइरहेको छ भन्ने बारेमा सुपरिभिजन गर्नको लागि प्रदेश कमिटीका पदाधिकारीलाई जिम्मेवारी दिइएको उनको भनाइ छ ।

यसको साथमा प्रदेशका जनसंगठनका भेला, पालिका इञ्चार्जहरुको भेला गरेर आवश्यक योजना बनाइएको भट्टराईले जानकारी दिए । आइतबार मात्रै उपत्यका भरिका वडा तहका निर्वाचित जनप्रतिनिधिहरूको भेला गरेर छलफल गरिएको उनले बताए । सो कार्यक्रममा महासचिव शंकर पोखरेलले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका भट्टराईले जानकारी दिएका छन् । काठमाडौं, पाटन, भक्तपुरका कोर सिटीका नेताहरूसँग हिजै यस विषयमा छलफल भएको उनको भनाइ छ ।

‘पार्टीको सिङ्गो पङ्तिलाई परिचालित गर्ने, जनताको तहमा यो विषयलाई पुर्‍याउनको लागि हामीले जनतासँग विशेष सम्बन्ध राख्ने जनप्रतिनिधिलाई परिचालित गरेर कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने योजना छ, यस बाहेक जनसंगठनहरुले केन्द्रीय पदाधिकारीहरूको भेला गरेका छन्, आआफ्ना भेला र बैठक आयोजना गरेका छन्, सघन हिसाबले नेकपा एमाले कार्यक्रमको तयारीमा लागेको छ’, उनले भने ।

बैशाख ११ कहिल्यै पनि बिर्सन नहुने दिन भएको बताउँदै उनले यसलाई बिर्साउनको लागि संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै प्रहार गर्ने काम भएको बताए । ‘ती प्रयासलाई विफल गराउने र नेपाली जनता गणतन्त्रको पक्षमा छन्, जनता भित्रको पनि आउँदो पुस्ता गणतन्त्रको पक्षमा छ भन्ने देखाउन यो सेलिब्रेसन गर्न लागिएको हो’, उनले भने ।

अहिले समाजमा देखिएको केही निराशा माथि टेकेर संविधान र गणतन्त्रलाई नै असफल गराउने दुष्प्रयास गर्न खोजिएको बताउँदै भट्टराईले युवा सधैँ अधिकार र स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे । अघि बढेको समाजलाई निरन्तरता दिएर अगाडि जानु पर्छ भन्ने सन्देश युवाहरूको तर्फबाट दिन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

एमालेका पक्षमा युवा र जनमत छैन भनि गरिएको गलत प्रचारलाई चिर्नु पनि कार्यक्रमको लक्ष रहेको उनले बताएका छन् । ‘युवाहरू ठुलो सङ्ख्यामा सडकमा उत्रिने छन्, कार्यक्रममा सांस्कृतिक कार्यक्रम हुने छ, कलाकार र ब्याण्डले प्रदर्शन गर्ने छन्, पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू, युवा नेताहरू लगायतले सम्बोधन गर्ने कार्यक्रम छ, यो कार्यक्रम विशेष हुने छ, अन्य कार्यक्रम भन्दा यो कार्यक्रम विशेष कार्यक्रम हुने छ’, उनले भने ।