१ असार २०८३, सोमबार

चुच्चेखोला वनमा डढेलो रोकथाम गर्न पूर्वतयारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २२ चैत । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिले वनमा लाग्ने डढेलो रोकथाम गर्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

डिभिजन वन कार्यालय मकवानपुरले वनमा डढेलोबाट हुने क्षति र रोकथामका लागि कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रमको आयोजन हेटौंडा उपमहानगरपालिका–१७ र मकवानपुरगढी गाउँपालिका–२ स्थित समितिको वन क्षेत्रका विभिन्न स्थानमा गरिएको थियो ।

डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजन वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीको उपस्थितिमा आयोजित जनचेतना कार्यक्रममा वन डढेलो लाग्न सक्ने जोखिमलाई न्यूनिकरण गर्न सडक क्षेत्रको पत्कर संकलन गरेर नष्ट गरिएको हो ।

चन्द्रवंशीले वन डढेलोका कारण वातावरण प्रदूषण साथै वनमा आश्रित जीवहरुको क्षति बढ्दै गएको उल्लेख गर्दै कुनै पनि हालतमा वनमा आगो लाग्नबाट जोगाउनु पर्ने बताए । वन डढेलो रोक्नका लागि कुनै कसर बाँकी नराखेको जानकारी पनि दिए ।

कार्यक्रमका दौरान चुरोट र बिँडीका ठूटा जथाभावी फाल्दा डढेलो लाग्न सक्ने भएकाले सडक क्षेत्रको पत्कर संकलन गरेर नष्ट गरिएको चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवालले जानकारी दिए । उनले भने, ‘जनचेतना र डढेलो जोखिम क्षेत्र नष्ट गरी हामी चुच्चेखोला सामुदायिक वन जोगाउँछौँ ।’

कार्यक्रममा सहभागी करिब ५० घरका उपभोक्ता, डिभिजन वनका प्राविधिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतकको टोलीले सडक वरपारको पत्करलाई संकलन गरी जलाएर नष्ट गरिएको थियो । यो कार्य हेटौंडा–१७ सालक पार्कदेखि मकवानपुरगढी–२ शिखरकेटी हुँदै भालुन्टारसम्मको गरिएको वनका सचिव केदार प्रसाद गौतमले बताए । उनले भने, ‘बाटो सफा गरौँ, सुरक्षित तरिकाले डढाउ, ताकि पुनः डढेलो नलागोस् ।’

गत वर्षहरुमा डढेलोका कारण चुच्चेखोला वन जोगिन सकेको थिएन । डढेलोले वनमा रहेका मृग, सालक लगायतका वन्यजन्तु र चराचुरुङ्गीहरुको बासस्थान नष्ट भएको थियो । त्यसैको ध्यानमा राख्दै यसपटक वनमा डढेलो नलागोस् भन्ने उद्देश्यले छिमेकी वनहरुसँग सहकार्य गरेर संयुक्त प्रयास गरिएको उपाध्यक्ष उमेश अधिकारीले बताए । उनले थपे, ‘वनमा आगो लागेको खण्डमा नियन्त्रणका लागि जनशक्ति तयारी अवस्थामा रहेका छन् ।’