
काठमाडौं, २२ चैत । नेकपा (एमाले)ले अघि सारेको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई मूर्तरूप दिन तीन संस्थाबीच महत्वपूर्ण समझदारी भएको छ । नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको संयोजनमा नेपाल बुद्धिजीवी परिषद् र प्रवासी नेपाली मञ्चले बौद्धिक तथा सांगठानिक क्षमता, अनुभव र स्रोतको समुचित परिचालन गर्दै संयुक्त रुपमा अघि बढ्ने सहमति गरेका हुन् ।
नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य विश्वास खतिवडाका अनुसार तीन संस्थाबीचको यो सहकार्यले समाजवादको निर्माणमा नीतिगत स्पष्टता, कार्यान्वयनको दिशा र संगठनात्मक बल प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’ नीतिगत खाका तयार गर्न विभिन्न अन्तरक्रिया, छलफल, कार्यशाला र विचारमूलक सामग्री प्रकाशनको कार्य अगाडि बढाइनेछ । यसका लागि उच्चस्तरीय निर्देशन समिति र दैनिक कार्य सम्पादनका लागि कार्यदल गठन गरिएको छ ।
नीति निर्माण प्रक्रियामा विज्ञहरूको क्लस्टर परिचालन गरिनेछ, जसले नीति लेखन, सम्पादन तथा अन्तिम रुप दिन सहयोग गर्नेछ । यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम सञ्चालन गर्दै प्रवासी नेपाली विज्ञहरूको अनुभव र सल्लाह समेटिने छ ।
नीतिलाई सशक्त बनाउन स्रोत संकलन र परिचालन गरिनेछ भने अन्तिम रुप दिइएको नीतिलाई एमालेले अंगिकार गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गरिनेछ । प्रचारको प्रभावकारिता बढाउन वृत्तचित्र तथा श्रव्यदृश्य सामग्री तयार गरिनेछ, जसले नेता, कार्यकर्ता र आम जनताले सजिलै बुझ्न, आत्मसात् गर्न र कार्यान्वयन गर्न सहज हुनेछ । कार्यक्रम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
समझदारीपत्रमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको तर्फबाट डा. दिनेशचन्द्र देवकोटा, नेपाल बुद्धिजीवी परिषद्को तर्फबाट प्रदीप ज्ञवाली, र प्रवासी नेपाली मञ्चको तर्फबाट सञ्जय थापाले हस्ताक्षर गरेका छन् ।
निर्देशन समितिमा एमाले उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा प्रदीप ज्ञवाली, डा. दिनेश चन्द्र देवकोटा र सञ्जय थापा सदस्यका रुपमा रहनेछन् ।
त्यस्तै, कार्यदलमा डा. दिनेशचन्द्र देवकोटा, आशिष रेग्मी, डा. विमला भण्डारी र विश्वास खतिवडा रहेका छन् ।








प्रतिक्रिया