
रौतहट, २२ चैत । प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित पर्सा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल–१४ मौजे टोलका ३२ वर्षीय कृष्णकुमार गुप्ता, वडा नम्बर १३ का ४० वर्षीय सुधीर कुशवाहा र ३८ वर्षीय अमित श्रीवास्तव र वडा नम्बर १ का राजाकुमार यादव रहेका छन् ।
वीरगञ्ज महानगरपालिका– १६ रजतजयन्ती चोकस्थित सडकखण्डमा प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्कार्पियो गाडीबाट २२० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा बीआर ०६ डीई ०००७ नम्बरको कालो स्कार्पियो गाडीलाई रोकी जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा कार्पेटले छोपेर कालो प्लास्टिकको झोलामा लुकाइएको खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लागू औषधमध्ये एउटा पोका भित्र १०० ग्राम र अर्को पोकामा १२० ग्राम गरी जम्मा २२० ग्राम खैरो हेरोइन बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध मुद्दामा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर प्रहरी हिरासतमा राखिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








प्रतिक्रिया