
रौतहट, १९ चैत । रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा १० लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
गरुडा नगरपालिका–५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो । आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोली खटिएको थियो ।
सुरक्षाकर्मी, स्थानियबासी र वरुण यन्त्र (दमकल ) सहयोगमा आगो करिब एक घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए । उनका अनुसार विद्युत तार सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन, मर्मतका लागि राखिएको ट्याक्टर लगायत जलेर क्षति पुगेको उनले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति नभएको उनको भनाइ छ ।
यस्तै, इशनाथ नगरपालिका–६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगलागी भएको रौतहट प्रहरीले जनाएको छ ।
आगलागीबाट कोठामा रहेका टिभी, पलङ र साइकल लगायत जलेर क्षति भएको प्रहरीको भनाइ छ । घरको कोठामा मात्र आगलागी भएकाले करिब ३८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।








प्रतिक्रिया