२९ असार २०८३, सोमबार

मनहरीबाट हेटौंडासम्म बृहत् मोटरसाइकल र्‍याली गर्दै एमाले

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनहरी, १६ चैत । गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि यही चैत १८ गते नेकपा (एमाले) मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको जागरणसभाअन्तर्गत मनहरीबाट हेटौंडासम्म बृहत् मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ ।

एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापन गर्न लागेको मोटरसाइकल र्‍याली हेटौंडाको बुद्धचोकमा आयोजना हुने जागरणसभामा मिसिन जानेगरी तयारी गरिएको गाउँ कमिटीले जनाएको छ ।

२ सयभन्दा बढीको सहभागितामा मोटरसाइकल र्‍याली आयोजना गर्न लागिएको एमाले मनहरी गाउँ कमिटीका अध्यक्ष नवीन सुवेदीले बताए ।

‘मनहरी गाउँपालिका मात्रै नभएर राक्सिराङ, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको ३ र १९ नं वडाबाट समेत मोटरसाइकल र्‍यालीमा युवाहरु थपिँदै जाने गरी व्यवस्था मिलाइएको छ’, अध्यक्ष सुवेदीले भने । उनका अनुसार ती वडा र पालिकाहरुका नेताहरुसँग पनि एमाले मनहरी गाउँ कमिटीले समन्वय गरिरहेको छ ।

मोटरसाइकल र्‍यालीमा सहभागी नहुने अन्य नेता कार्यकर्ताहरु बस, ट्रक, बोलेरो भ्यान, निजी गाडीहरु प्रयोग गरेर हेटौंडाको जागरण सभामा सहभागी हुन जानेछन् ।

मोटरसाइकल र्‍यालीलाई व्यवस्थित, अनुशासित र संयम बनाएर सहज रुपमा जागरण सभा परिसरमा पुर्‍याउनका लागि मसिनो गरी तयारी भइरहेको गाउँ कमिटीका उपसचिव अमृत बर्तौलाले बताए ।