
काठमाडौ, १६ चैत । नेपाल पत्रकार महासंघले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ ।
महासंघको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी र हराएका सञ्चार सामग्रीको विवरण सङ्कलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा महासंघले घटनाका सम्बन्धमा सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनसँग छलफल गर्ने निर्णय गरेको जनाएको छ ।
समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक कार्यरत सञ्चारगृह र उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा समिति पनि गठन गरेको जनाइएको छ । समितिका सदस्यहरुमा महासंघका सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली रहेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।
महासंघले हिजो भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा आज देशव्यापी विरोध प्रदर्शन समेत गरेको छ ।








प्रतिक्रिया