
रामेछाप, १६ चैत । नेकपा (एमाले)की केन्द्रीय सदस्य गीता कार्कीले अहिले राष्ट्रमाथि खुलेआम घेराबन्दी भएको बताएकी छन् ।
शनिबार राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीको तेस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै कार्कीले विभिन्न देशी विदेशी शक्तिले देशलाई घेराबन्दी गर्ने काम गरिरहेको बताइन् । नीति, विधि र कानुन बिर्सिएर यति बेला राजावादीहरू अराजक रूपमा प्रस्तुत भएको उनको भनाइ छ ।
‘अहिले सबै शक्ति मिलेर राष्ट्रलाई घेराबन्दी गर्दै छन्, यसलाई हामीले एक भएर चिर्नुपर्छ’, उनले भनिन् । यस्तो अवस्थामा पार्टी एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको कार्कीले बताइन् । यसको लागि व्यक्तिलाई होइन, नीति र विधिलाई प्रमुख बनाएर अघि बढ्नु पर्नेमा उनले जोड दिइन् । ‘कम्युनिष्ट पार्टी नीति र विधि प्रधान हुनुपर्छ’, उनले भनिन् ।
राजाको शासन कालमा जो जो उत्पीडनमा परेका थिए आज तिनै मानिसहरू राजा आऊ देश बचाउ भनेर हिँडेका भन्दै उनले आलोचना गरिन् । ‘हिजो जसले हामीलाई दमन गर्यो, आज फेरि त्यसैलाई आऊ र देश बचाऊ भनेर हुन्छ ?, उनले के बचाउँछन् ?’, उनले प्रश्न गरिन् ।








प्रतिक्रिया