२२ जेष्ठ २०८३, शुक्रबार

मरिसकेको राजतन्त्रलाई ब्युँताउने सपना नदेख्न राजावादीलाई अध्यक्ष ढुंगेलको चेतावनी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १६ चैत । नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुंगेलले मरिसकेको राजतन्त्रलाई ब्युँताउने सपना नदेख्न राजावादीलाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीले शनिबार पुष्पलालको जन्मथलो रामेछापमा आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगेलले विकास विरोधी नवराज सुवेदी जस्ता गनाउने सिद्रालाई बोकेर राजतन्त्र फिर्ता ल्याउने सपना नदेख्न चेतावनी दिए ।

‘रामेछापको विकास रोक्ने, रामेछापका जनतालाई भरियाको युगबाट बाहिर माथि उठ्न नदिने, विकास विरोधी नवराज सुवेदीलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ’, उनले भने । अबको लडाइँ राजावादी र गणतन्त्रवादीको अन्तिम लडाइँ भएको बताउँदै ढुंगेलले राजावादीको इँटाको जवाफ पत्थरले दिने चेतावनी दिए । ‘व्यक्तिको घर फोर्ने, पत्रकारलाई ज्युँदै जलाउने, पसल लुट्ने, रक्सी लुट्ने, फलफूले लुट्ने, यस्ता मान्छेलाई लिएर राजवादीहरू कता जाँदै छन् ?’ ढुंगेलले प्रश्न गरे ।

‘पूर्वराजा ज्ञानेन्द्रले लुटेरा जम्मा गरेर हिंसा र आतंक मच्चाए, पूर्वराजा ज्ञानेन्द्रलाई पूर्जी काटेर जेलमा हाल्नु पर्छ, त्यसका मतियार नवराज सुवेदीलाई गोलघरमा हाल्नु पर्छ, यो व्यवस्था भित्र बसेर यही व्यवस्थाको विरुद्ध लाग्ने राप्रपाका नेताहरूलाई जेल हाल्नु पर्छ, अराजक दुर्गा प्रसाईँलाई हतकडी लगाएर ल्याउनु पर्छ, यस्ता अराजकलाई थुन्ने काम हुनुपर्छ, यिनीहरुलाई थुनियोस् सरकार’, उनले भने ।

ढुंगेलले राजनीति गर्न सजिलो भए पनि टिक्न गाह्रो भएको बताए । समाजवादको बाटो सुखको बाटा नभएको ढुंगेलले स्पष्ट पारे । रक्सी खाएर लरबराएर हिँड्ने मानिस समाजवादको बाटोमा हिँड्न नसक्ने उनले स्पष्ट पारे ।

समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी एमाले नै भएको बताउँदै एमालेलाई शीरमा बोकेर हिँड्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । एमालेले मात्र समृद्ध नेपाल निर्माण गर्न सक्ने बताउँदै उनले अन्य दलबाट त्यो कल्पना नगर्न आग्रह गरे ।

ढुंगेलले समाजवादको बाटोमा अघि बढ्न मिसन २०८४ लाई सफल बनाउने प्रतिबद्धता आउनुपर्ने बताए । त्यो प्रतिबद्धता भनेको एमालेको एकल बहुमतको सरकारको लागि युवा परिचालन भएको उनले स्पष्ट पारे ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य प्रेम तामाङले हिजोको घटना अराजक तत्त्वले टाउको उठाउने घटना भएको बताए । हिजोको प्रदर्शन राजनीतिक प्रदर्शन नभएर हिंसात्मक भएको तामाङले स्पष्ट पारे । दुर्गा प्रसाईँ जस्ता ठगलाई बोकेर पूर्वराजले समाजलाई आतङ्कित बनाउने काम गरेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै पार्टी बागमती प्रदेश कमिटी सदस्य सिता खत्रीले देशमा अराजकता बढ्दै गएको बताउँदै त्यसबाट युवालाई जोगाएर अघि बढाउनु पर्नेमा जोड दिइन् । उनले पूर्वराजाका समर्थकहरूको आन्दोलनमा भएको हिंसात्मक घटनाको निन्दा गरिन् ।

कार्यक्रममा बोल्दै एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले एमाले र त्यसका जनसंगठनलाई आफ्नो शक्तिमा विश्वास गर्न आग्रह गरे । ‘आफ्नो शक्ति माथि विश्वास गरौँ, एमालले आफ्नै शक्ति माथि विश्वास नगर्दा मात्र पराजय भोग्नु पर्ने हो, एक भएर लाग्दा र आफ्नो शक्तिमा विश्वास गर्दा एमालेलाई कसैले पनि हराउन सक्दैन’, उनले भने ।