
काठमाडौं, १६ चैत । प्रेस चौतारी नेपालले शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा आक्रमणमा परी क्षति भएका सञ्चारमाध्यको स्थलगत अवलोकन गरेको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार क्षति भएका विभिन्न सञ्चारमाध्यममा पुगेर स्थलगत अवलोकन गरेको हो । यस क्रममा राजावादीहरूको आक्रमणमा परी घाइते भएको पत्रकारहरूको अवस्थाबारे पनि उनीहरूले जानकारी लिएका थिए ।

चौतारी नेपालका अध्यक्ष पाण्डेले राजावादीहरूले सञ्चारमाध्यमलाई आक्रमणको निशाना बनाएकोमा दुःख व्यक्त गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । उनले पूर्वराजाका समर्थकहरूको उद्दण्ड र हिंसात्मक कार्यको आलोचना गर्दै राज्यले अपनाएको संयमताकै कारण शुक्रबार ठूलो क्षति हुन नपाएको बताए । अध्यक्ष पाण्डेले पत्रकारको सुरक्षाको लागि ध्यान दिन राज्य सम्बद्ध पक्षलाई आग्रह गरे ।

यसैगरी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले सञ्चारमाध्यमहरूमा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिहरूलाई स्थापित गर्न सपना देखिएको बताए । यो सपना पूरा हुन नसक्ने बताउँदै लामाले अविचलित भएर आफ्नो पेसामा लाग्न पत्रकारहरूलाई आग्रह गरे ।

प्रेस चौतारीले राजावादीहरूको आक्रमणमा परेको कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, अनलाइन खबर लगायतका सञ्चारगृहमा पुगेर स्थलगत अवलोकन गरेको थियो ।
पूर्वराजाका समर्थकको आक्रमण परी एभिन्युजका पत्रकार सुरेश रजकको ज्यान गएको थियो । रजकलाई उनीहरूले घरभित्र आगो लगाएर थुनिदिएका थिए । आन्दोलनकारीका नाममा कान्तिपुर टिभी, हिमालय टिभी र अन्नपूर्ण पोष्ट लगायतका सञ्चारमाध्यमको कार्यालयमा आक्रमण गरेको थियो ।
यसैबीच, प्रेस चौतारी नेपालका नेताहरूले नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभामा पुगेर उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । त्यहाँ पुगेर चौतारीका नेताहरूले निडरतापूर्वक खबर यात्रामा लाग्न आग्रह गरे ।
अवलोकनको क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा निकै ठूलो क्षति पुगेको पाइएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले बताए ।
यसैगरी, अन्य सञ्चारमाध्यम र तिनका उपकरणमा क्षति पुगेको तथा पत्रकारहरू घाइते भएका पाइएको अध्यक्ष पाण्डेले बताए । ‘हिमालय टिभीको गाडी तोडफोड भएको छ, गाडीभित्र रहेका तीन जना सञ्चारकर्मी घाइते भए पनि ज्यान जोगाउन सफल भएका छन्, आज उनीहरूले घटना विवरण सुनाउँदै मन नै चिसो भयो, आन्दोलनकारीले बन्दुक खोसेको तस्वीर खिच्ने अनलाइन खबरकर्मी दिनेश गौतम खुट्टा भाँचिएको छ’, अध्यक्ष पाण्डेले भने ।
घटनाक्रम हेर्दा पूर्वराजाका समर्थकहरूको हिजोको हिंसा र आतंक सुनियोजित देखिएको पाण्डेले बताए । ‘हिजोको घटना सुनियोजित र प्रायोजित थियो, राज्यले सावधानी र संयमता अपनाएका कारण निकै ठूलो मानवीय क्षति हुने अवस्था टरेको छ’, अध्यक्ष पाण्डेले भने ।










प्रतिक्रिया