३ श्रावण २०८३, आइतबार

सगरमाथामा फोहोर संकलन गर्दै नेपाल लाइफ इन्स्योरेन्स

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्न प्रोजेक्ट केयर अभियानअन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

बिहीबार काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)सँग सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । उनले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको बताए । साथै, उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेशकुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको बताए । उनले सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने बताए । साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको बताए ।

सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको तर, मानव गतिविधिको वृद्धिसँगै सगरमाथा फोहोरको डंगुर बन्दै गएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले बताए । त्यागिएका टेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो विश्वकै सबैभन्दा अग्लो फोहोर थलो नबनोस् भन्ने अभिप्रायका साथ यो सहकार्य गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल लाइफका कर्मचारीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।