७ असार २०८३, आइतबार

होलीमय मिथिला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २९ फागुन । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन ।

माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १५ दिने मिथिला मध्यमा परिक्रमा आठौँ दिन महोत्तरीको कञ्चनवन पुगेपछि सुरु हुन्छ । त्यसयता दिनहुँ मिथिलामा होली समारोह हुन्छन् । दिनदिनै होली उत्सव । जता हेर्‍यो होलीको रौनक । होलीको रमाइलो जोडिएर नै फागुनलाई यहाँ गवैया (गायक)ले ‘मस्त महिना अरे फागुनका’ भन्ने गरेका पाका मैथिल बताउँछन् । ‘हिन्दू मैथिल परम्परामा फागुन विवाहको बाक्लै लगन (लग्न) भएको महिना हुन्छ, रङअबिरमा रमाउन पाइने हुँदा धेरैजसो मैथिल फागुनकै बिहे रोज्छन्’, बर्दिबास–९ पशुपतिनगरका अगुवा सामाजिक ७० वर्षीय विसुनदेव महतो भन्छन्, ‘त्यसैले अधिकांश जोडी बाँधिनेहरू फागुन पर्खन्छन् ।’

मधेसमा होली फागुन पूर्णिमाको भोलिपल्ट भनिए पनि मिथिला क्षेत्रका अनेकानेक परम्पराले यो पनि कहिलेकाहीँ तीन दिनसम्म चल्छ । पूर्णिमाका दिन फागु खेल्ने पर्वते परम्पराले मिश्रित बस्तीमा आजै होलीको धूम सुरु हुँदैछ । महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिकामा आज होली पर्वविशेषका कैयौँ मनोरञ्जनात्मक कार्यक्रमको तयारी छ । पर्वते र मधेसीमूलका बाहुल्य बस्तीमा आज होली धुमधाम साथ मनाउने तयारी छ ।

‘होली लाग्यो, आज साथीहरूसँग मज्जाले खेल्ने र ‘मटकाफोर’ कार्यक्रममा सहभागी हुने योजना छ’, बर्दिबास–२ ॐ शान्तिचोककी २० वर्षीया कृति महतो भन्छिन्, ‘बुरा नमानो होली है !’

पर्वते मूलका साथीसँगको रमाएपछि मधेसी बाहुल्य बस्तीमा भने पूर्णिमाको होली शुक्रबार धुमधामसँग हुनेछ ।

यसैगरी, मिथिला माध्यमिकी परिक्रमाको १६औँ दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा घुमिने र सोको भोलिपल्ट परिक्रमा पथभित्र होली पर्व मनाउने परम्पराले पर्सि शनिबार पनि यहाँको होली छ । मध्यमा परिक्रमाको १५औँ दिन आज यात्री अन्तिम बासका लागि जनकपुर जानेछन् । भोलि शुक्रबार अन्तरगृह परिक्रमा हुनेछ । तिथिको भोग घटबढ र परिक्रमा तालिकाले यस्तो पर्ने गरेको भङ्गाहा–९ कञ्चनवनका शिक्षक नागेन्द्र यादव बताउँछन् ।

अन्तरगृह परिक्रमाका दिनसम्म सात्विक भोजन र ब्रह्मचर्यमा रहने व्रतले यहाँ होली परम्परा त्यसको भोलिपल्ट मनाइने चलन बसेको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डलको कथन छ । होलीसँग जोडिएका फरकफरक परम्पराले यहाँ धेरैजसो तीन दिन होली पर्व पर्ने गरेको लोहारपट्टि–६ का ८० वर्षीय चन्देश्वर मण्डल बताउनुहुन्छ । आपसी घुलमिलले पर्वते र मधेसी मिसिएर पर्व मनाउँदा भावनात्मक एकताको सन्देश प्रवाह हुने हुँदा यसले सकारात्मक प्रभाव नै छाड्ने उनको ठम्याइ छ । यद्यपि पर्वमा उच्छृङ्खलता प्रवेश हुन नदिन सचेतता अप्नाउन जरुरी रहेको भङ्गाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहको भनाइ छ ।

यसैबीच, होली पर्वलाई दृष्टिगत गरी मधेसका सबै जिल्लामा स्थानीय प्रशासनले पर्व मर्यादित र उल्लासपूर्वक मनाउन सार्वजनिक अपिल गरेका छन् ।