
काठमाडौं, २८ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संघीयता र संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कानुनहरू वर्तमान सरकारले बनाएर अघि बढ्ने बताएका छन् ।
शिक्षकहरूको माग सम्बोधनको लागि दबाब दिन नेपाल शिक्षक महासङ्घले एमाले केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको धर्ना बस्न गएका शिक्षकहरूलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यसकै लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताएका हुन् ।
यसलाई तदारुकता साथ अघि बढाउने गरी सरकार लागेको पोखरेलले प्रष्ट पारे । ‘राज्यले शिक्षकहरूको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासाथ गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाए हुन्थ्यो भनेर हामी आफैँ लागि रहेका छौँ’, उनले भने ।
ऐनमा समेट्ने विषयमा एक मत बनाउनको लागि सबैको प्रयास आवश्यक पर्ने बताउँदै उनले कुन कुन विषयमा कसरी जाने भन्ने विषयमा एक्यमतता बनाउने कुरा धर्ना भन्दा महत्त्वपूर्ण हुने स्पष्ट पारे । ‘तपाईँहरूको साथमा हामी छौँ, चिन्ता गर्नुपर्ने स्थिति छैन’, पोखरेलले भने ।
शिक्षकहरूको नेतृत्वमा बस्ने नेताहरूले आफ्ना विद्यालय राम्रो बनाउन लाग्नु पर्ने पनि उनको भनाइ छ । ‘नेताहरूले जिम्मा लिएका विद्यालय राम्रा बनाउनु पर्छ, यसबाट अरूले पनि पाठ सिक्छन्’, उनले भने ।
नेपालमा राजनीति भित्र राजनीति प्रवेश गराउने प्रयत्न हुने गरेका भन्दै उनले राजनीतिमा राजनीति प्रवेश गर्न दिनु नहुने धारणा राखेका छन् । नेपालमा राजनीति दलले शिक्षामा समस्या ल्याए भन्ने गलत कुरा भइरहेको बताउँदै उनले अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सन नहुनेमा जोड दिए ।
पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गराउनु पर्ने पनि बताए । नेपालको शिक्षाले अब सिपयुक्त र व्यवहारिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउँदै उनले शिक्षाले नागरिक कर्तव्य सहितको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया