
काठमाडौं, १९ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीति गर्नेले बिचारमा पार्टीलाई डोर्याउन सक्नु पर्ने बताएका छन् ।
सोमबार ‘केपी शर्मा ओली स् सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै पोखरेलले विचार विनाको नेता बन्न नसक्ने बताएका हुन् । विचार बिनाको नेता प्राविधिक रूपमा मात्र नेता बन्ने उनले स्पष्ट पारे । ‘केपी शर्मा ओली विचार सहितको नेता हो’, पोखरेलले भने ।
केपी शर्मा ओली झापा विद्रोहमा पनि मानव हत्या विरुद्ध असहमति राख्ने नेता भएको उनले बताए । ओली मदन भण्डारीको जनताको बहुदलीय जनवादको मस्यौदाकार समेत रहनुभएको स्पष्ट पार्दै महासचिव पोखरेलले धैर्यता नगुमाउँदा विचारलाई स्थापित गराउन सकिन्छ भन्ने मान्यता ओलीले पुष्टि गरेका बताए ।
समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाकार ओली संगठित विचार र योजनाकार रहेका उनको भनाइ छ । समृद्ध नेपाल, सुखी नेपाली परिपूर्ण लोकतन्त्रको आयाम भएको पोखरेलले स्पष्ट पारे ।
केपी ओली सफल राजनीतिज्ञ र कुशल राज्य सञ्चालक भएका पोखरेलको टिप्पणी छ । राजनीतिसँगै शासकीय जीवनमा पनि उनी सफल नेता भएको पोखरेलले बताए । यस्तो नेता माथि पनि प्रहार र घेराबन्दी भएको पोखरेलको भनाइ छ ।
नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र भएको कारण केपी ओली माथि सामाजिक सञ्जाल मार्फत आक्रमण गरिएको उनको धारणा छ । काम गर्नेलाई काम गर्ने अनुकूल वातावरण बनाउनको लागि भूमिका खेल्न नसक्ने हो भने राष्ट्रको विकास र समृद्धिको यात्रा अघि बढाउन निक्कै कठिन हुने पोखरेलले स्पष्ट पारे ।








प्रतिक्रिया