
रामेछाप, १७ फागुन । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुंगेलले सामुदायिक विद्यालयका व्यवस्थापकीय पक्ष निकै कमजोर भएको बताएका छन् ।
शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको श्री मावि ज्यामिरेखानीको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा योग्य शिक्षकहरू भएका भए पनि व्यवस्थापकीय पक्ष कमजोर हुँदा आशा गरे अनुसारको उपलब्धि प्राप्त हुन नसकेको बताए । यसको लागि शिक्षक र अभिभावकको विशेष ध्यान जानु पर्नेमा ढुंगेलले जोड दिए ।
‘हाम्रा सामुदायिक विद्यालय कमजोर होइनन्, यसको व्यवस्थापकीय पाटो कमजोर भयो, मिर्गले आफ्नो कस्तुरीको बास्ना थाहा नपाएर खोज्न हिँडेजस्तो अवस्थामा हामी छौँ’, उनले भने । सामुदायिक विद्यालयमा रचनात्मक हिसाबले शिक्षण पक्रिया अघि बढाउनु पर्ने उनको धारणा छ । विद्यालयका अनुभव आदानप्रदान, शिक्षण सिकाइ आदानप्रदान जस्ता क्रियाकलाप गरेर शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिने उनको धारणा छ ।
आजको युग डिजिटल प्रविधिमा प्रवेश गरेको बताउँदै उनले हाम्रा सामुदायिक विद्यालयले त्यही अनुसारको शिक्षा दिनु पर्नेमा जोड दिए । प्रविधिको उपयोग गर्न नसक्ने शिक्षाले अब विद्यार्थीको क्षमा विकास गर्न नसक्ने उनको धारणा छ । ‘मानव मस्तिष्कको क्षमतालाई अधिक उपयोग गराउने थलो शिक्षण संस्था बन्नुपर्छ’, उनले भने ।
ढुंगेलले विद्यालय समाज र समाजको महत्त्व सिकाउने ठाउँ भएको बताए । अब कुनै मुलुकलाई समाप्त पार्नु पर्यो भने शिक्षा कमजोर बनाइदिए हुने बताउँदै उनले यसलाई प्रमुख महत्त्व दिएर काम गर्नुपर्ने अबको आवश्यकता रहेको स्पष्ट पारे ।









प्रतिक्रिया