
सुर्खेत, १७ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अब गरिने विकास युवा पुस्ताको मनोविज्ञान बुझेर गर्ने बताएका छन् ।
आज वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको ग्रेटर घण्टाघर निर्माणसम्बन्धी छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विकासमा युवा पुस्ताको सहभागितासँगै उनीहरूको चाहना अनुसार हामीले गर्ने विकासमा ध्यान दिन सके दिगो समय अनुकूलको विकास हुने बताए ।
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने विकास निर्माणको सिको अन्य पालिकाहरूले गर्ने हुँदा यहाँ हुने विकास जनभावना अनुसार दिगो र वातावरणमैत्री हुनुपर्ने कुरामा मुख्यमन्त्री कँडेलको जोड थियो ।

वीरेन्द्रनगरका सार्वजनिक जमिन अहिले मात्र नभएर आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर आउने पुस्तालाई पनि उपभोग गर्नेगरी बचाएर राख्दिनु हाम्रो दायित्व भएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । जनप्रतिनिधिहरूले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउने तिर ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले बताए ।
वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको छलफलमा प्रदेश सभा सदस्य जानकी सिंह, जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया