
पोखरा, १७ फागुन । केही दिन यता पूर्वराजा ज्ञानेन्द्र शाह पोखरालाई आधार क्षेत्र बनाएर आफ्नो गतिविधि गरिरहेका छन् । आफ्नो श्रीमतीसहित पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्रले सपरिवार पोखराका धार्मिक स्थलहरु भ्रमण गरिरहेका छन् ।
पूर्वराजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरु गरिरहेका बखत पोखरामा राजावादीहरुको गतिविधि ह्वात्तै बढिरहेको छ । संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विशाल प्रदर्शन गरेर शक्ति प्रदर्शन गरिरहेका छन् भने दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानले आज पोखरामा विशाल सभा गर्दैछन् । पछिल्लो समय नेपाली राजनीतिक नेताहरुलाई भेट नदिएको भारतले दुर्गा प्रसाईंलाई भेट दिएको छ ।
आज पोखरामा हुने सभामा आफूले भारतमा गरेको उच्चस्तरीय राजनीतिक भ्रमणका बारेमा जानकारी दिने प्रसाईंले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिइसकेका छन् । पछिल्लो समय नेपालमा राजा पुनस्थापित गराई छाड्ने कसम खाएका प्रसाईंले संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यका बारेमा आज कस्तो घोषणा गर्ने हुन ? त्यो प्रतिक्षाको विषय बनिरहेको छ ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले हाँकेको गाडी पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित जेब्रा क्रसमा पार्किङ गरिएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।








प्रतिक्रिया