
विराटनगर, १६ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शेर्पा समुदायले आफ्नो मेहनत, साहस र सीपमार्फत नेपालको नाम विश्वभर चिनाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वले आपसी सद्भाव भाइचारा र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने बताए ।
मुख्यमन्त्री कार्कीले नेपाल बहुजाति बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यो विशेषताले नेपालीलाई सदियौंदेखि एक आपसमा सहकार्य समन्वय र बन्धुत्वको मार्गमा हिँड्न सहयोग पुर्याएको उल्लेख गरे । यो पर्वले नेपाली बीचको एकता र मित्रताको भावना थप प्रगाड बनाउँदै सामाजिक तथा आर्थिक विकासमा योगदान पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे ।
फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन मनाइने यो पर्व हाम्रो समृद्ध सांस्कृतिक विविधता र पहिचानको सुन्दर प्रतिक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।








प्रतिक्रिया