२२ कार्तिक २०८३, आइतबार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १५ फागुन । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ ।

हाल सञ्चालनमा रहेको सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । यस कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा दुई करोड ६९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।

मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।

देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा माग सुनुवाइ भएको उनको भनाइ छ ।

नवलपुरको गैँडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र त्यस बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै सम्बन्धित निकायमा स्थानीयवासीले माग गरेका थिए ।

वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले त्यस योजना रद्द गरेको थियो । त्यस सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उनले विश्वास व्यक्त गरे । हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।

देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्को राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताए । वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ ।