४ श्रावण २०८३, सोमबार

पढेपछि ठालु पल्टने प्रवृतिले देश पछाडि पर्‍यो : शंकर पोखरेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दल भित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताएका छन् ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले यसले पार्टीमा अवसरवाद जन्मिएको बताएका हुन् ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ’, उनले भने । अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनु पर्ने उनले बताएका छन् । ‘अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउनु पर्दछ’, उनले भने ।

कुनै पनि संगठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उनको भनाइ छ । कुनै पनि उद्देश्यको लागि सांगठनिक शक्ति आवश्यक पर्ने पोखरेलले बताए । ‘विचारले मात्रै हुँदैन, विचारलाई संगठनमा बदल्नु पर्छ, संगठनलाई उद्देश्यमा बदल्नु पर्छ’, उनले भने ।

नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टने, अन्त कतै यस्तो हुन्छ ?, के कारणले हाम्रो देश बनेन भन्ने कुरा यसैले पुष्टि गर्छ’, उनले भने ।

कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने उनको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेको महासचिवले स्पष्ट पारे । प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनु पर्ने बताउँदै उनले नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्ने धारणा राखे । सरकार फेरबदल भइरहने कुराले जुन रूपमा नेपाल अघि बढ्नु पर्ने हो त्यो हिसाबले अघि बढ्न नसकेको पोखरेलले बताए ।

पुँजी निर्माण बिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताएका छन् । नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको धारणा छ ।

त्यस्तै राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर भएको उनले बताए । ‘कर तिर्ने भन्दा कर नतिर्नेको जमात बढी छ, नेपालमा कर तिर्ने संस्कृति नै छैन’, उनले भने ।

विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै उनले विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे ।

देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकोले अहिले देशका ठुला दुई राजनीतिक दल मिलेर सरकार बनाएको उनले बताए ।