१५ असार २०८३, सोमबार

‘भीम रावलमा प्रवासी नेपालीप्रति कुनै मायामोह छैन’

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–रामप्रसाद पराजुली

नेकपा (एमाले)मा निरन्तर अवसर र लाभ लिएका नेता भीमबहादुर रावल पछिल्लोपटक अलगिँदै एमालेविरोधी गतिविधिमा ओर्लिएका छन् । आजीवन मालामाल लाभ हात पार्दै आएका रावलले एकपटक अवसर आर्जनका लागि कुर्नु मात्र परेको थियो, पार्टीविरुद्ध विष घोल्न र ओकल्न सडकमा पुगे । माधवकुमार नेपाल नेतृत्वको कम्युनिष्ट आन्दोलनको चीरहरण अभियानका मतियार बनेको भीमबहादुर रावल मातृभूमि नेपाल अभियानको झण्डामुनि उभिएका छन् । पूर्वबाट दुर्गा प्रसाईको अश्लील स्वर र पश्चिमबाट रावलको निशान केन्द्रीत चोटले एमालेलाई यद्यपि फरक पारको भने छैन ।

भीम रावलकै क्षेत्र र प्रदेशबाट भारतस्थित शहरबजारमा श्रमआश्रित लाखौँ नेपालीमाझ भ्रम सिर्जना गर्न, भ्रामक गतिविधिमार्फत अलमल सिर्जना गर्न र यो अलमलका माझबाट नेपाली कम्युनिष्ट आन्दोलनको भर्भराउँदो घरमा आगो झोस्न रावल यतिखेर तल्लीन छन् । काका रावल निर्देशित मुम्बई निवासरत भाइ–भतिज डम्बर रावल पनि जुनकिरीको उज्यालोमा आफूलाई संसारमै सर्वोत्कृष्ट सावित गर्न खोज्दैछन् । क्षेत्रीय शक्ति सन्तुलनदेखि लिएर बंशजको निरन्तर उत्तराधिकारी खोज्ने डम्बर रावल राजनीतिक दिशा निरुपणले प्रभावित भएरभन्दा पनि सुदूरपश्चिम प्रदेशको अछाम निवासी काका भीमबहादुर रावलका सहोदर भाइ–भतिज मात्र हुन् । यसपछि प्रवासी नेपाली समुदाय लाग्न, यसलाई नजिकैबाट नियाल्न र अनुसरण गर्न किमार्थ हुँदैन ।

भारत प्रवासस्थित प्रवासी नेपाली संघ भारतमा संगठित केही साथीहरू तथा नेतृत्वमा रहनुभएका सुदूरपश्चिम आधारित साथीहरू मातृभूमि जागरण अभियानमा जोडिनुभएको समाचार सामाजिक सञ्जालमार्फत हाम्रा आँखा वरिपरि आइरहेको हुन्छ । यो मातृभूमि जागरण अभियानको एकमात्र लक्ष्य र उद्देश्य भनेको देशभित्र नेकपा (एमाले) अध्यक्ष एवम् वर्तमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राग ओकल्नु हो, एक व्यक्तिलाई स्थापित गराउन अग्रसरता लिनु हो, यस निमित्त आमप्रवासी नेपालीहरूलाई भरमग्दुर उपयोग गर्नु हो । यसले पनि कसैलाई खुशी तुल्याउन सक्ला ! प्रफुल्लित बनाउन सक्ला ! तर देशभित्र एमालेको नेतृत्वमा बलियो राष्ट्रिय राजनीतिक शक्ति निर्माणका लागि कुनै योगदान गर्न सक्दैन, अहिलेसम्म भए गरिएका प्रयासको प्रतिफलस्वरुप अर्जित ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्दैन । यसकारण सारा नेपालीले आफूहरू सुखी रहन, खुशी हुन र देशलाई समृद्धतर्फ लैजान गरिएको प्रयासमाथि तुषरापात गर्न चाहेको मातृभूति जागरण अभियानलाई साथ दिनु सान्दर्भिक होला त ! कहिल्यै पनि हुँदैन । नेपाली नागरिकको यस्तो पवित्र कर्म, लक्ष्य र उद्देश्यमाथि रावलजीद्वारा धावा बोलिएसँगै आरम्भ गरिएको अपराधको साक्षी प्रवासी नेपाली बन्नुहुँदैन र बस्नुहुँदैन ।

छोटेराजा स्वरुपमा विकसित भएर डम्फुको लयमा देखिएका रावल बन्धुहरूलाई थाहा हुनुपर्छ– लोकतन्त्रमा व्यक्तिभन्दा दल पहिलो हुन्छ, दलभन्दा देश पहिलो हुन्छ । यहाँ एउटा प्रसंग साझा गर्न उचित लागेको छ–भीमबहादुर रावलको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतमा एकपटक भारत भ्रमणमा आउनुभयो । राजधानी दिल्लीको धौलकुँ आस्थित मौरियासेरेटन होटलमा उहाँको बडाठाँटसहितको बसाइँ थियो । मसमेत रहेको एउटा प्रतिनिधिमण्डल, जसमा तत्कालीन संघको केन्द्रीय अध्यक्ष खेमचन्द्र ढकाल, नेता लोकनाथ भण्डारी, युवराज बास्कोटा, टेकबहादुर केसीसहित भेटघाट गर्न गयौँ । बल्लतल्ल भेटघाटको गर्ने अवसर मिल्यो । उहाँलाई अगाध स्वागत र सम्मानस्वरुप अभिवादनपछि प्रवासी नेपालीहरूको विविध समस्याका बारेमा चर्चा आरम्भ गरिएयो । यद्यपि, उहाँले राम्रोसँग सुन्न चाहनुभएको पनि थिएन, उल्टै शिशा फुटे झैँ चिराचिरा परेर फुट्न चाहनुभयो । आफूलाई के के न पढालेखा, अलिदम्भी, अलिक घमण्डी हुनुहुन्छ भनेर सुनिएको थियो तर उहाँको सन्कास्वभाव त्यहिँनेर पहिलोपटक देखियो ।

बलजफ्ती एउटा प्रस्ताव गरियो– भारत प्रवासस्थित लाखौँ प्रवासी नेपालीहरूको विवरण वडा, पालिका र जिल्लास्तरमा संकलन गर्नुपर्दछ । यसमा को ? कहाँबाट ? कहिलेदेखि ? कस्तो अवस्थामा छन् ? त्यो तथ्याङ्क तयार गर्दै भारत प्रवासमा रहेका प्रवासी नेपालीहरूको विविध समस्या र सुरक्षाको निम्ति ठोस योजना नीति निर्माण गरिनुपर्छ हामीले सस्वर भन्यौँ । विषयवस्तु जस्ताकोतस्तै राख्न नपाउँदै उहाँको उत्तर थियो– यो सम्भव छैन र हुँदैन पनि । सरकारसँग यस्ता विषय हेर्ने समय छैन । उहाँको यो अभिव्यक्तिबाट हामीहरू तिलमिलाएका थियौँ । उहाँ प्रवासी नेपालीहरूको समस्याप्रति चिन्तित हुनुहुन्न, राखिएका समस्यामाथि कति गम्भीर हुनुहुन्न, यो उहाँको हाउभावमा सर्लक्कै देखिन्थ्यो । यसबाट हामी सहजै अनुमान लगाउन सक्छौँ कि रावलजीले प्रवासी नेपालीहरू खासगरी सुदूरपश्चिमका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सधैँभरि एउटा टोकरीको भोट बैंकमात्र बनाउनुभयो, आफू जिल्ला बस्ने कि काठमाण्डौँ फालाफाल ठाउँ र मालामाल जिन्दगी बाँच्नुभयो तर सुदूरपश्चिमका लक्षित समुदायका दाजुभाइ तथा दिदीबहिनीको जीवनस्तर सुधार्न कहिल्यै ध्यान दिनुभएन । यस्ता अरु पनि थुप्रै घटना, सन्दर्भ र दृष्टान्तहरू छन् ।

अलिअलि पढालेखा भएकै कारण यति टुनामुना गर्नुहोला ! गफगाफ दिनुहोला ! तासका पत्ता झैँ विषयलाई विषयान्तर गर्दै कुरा छाँट्नुहोला ! रावलजीका यी गफगाफ र टुनामुनामा अल्झन र कति पनि भ्रममा नपर्न अनुरोध गर्दै आह्वन गर्दछु कि रावलजीले आज कमाएको व्यक्तित्व एमालेकै कारणले मात्र सम्भव भएको हो । उहाँलाई भजाउन र एमालेलाई धुमिल तुल्याउन लाग्नुभएको छ । यो आफैंमा अपराध र आपराधिक कर्मबाहेक केही होइन । तपाई हामी हामी समस्या साझा प्रकृतिका छन् । उस्तैउस्तै लाग्ने सबैका यी साझा समस्या समाधान गर्न देशमा बलियो सरकार चाहिन्छ । यसले स्थिरता दिन्छ । स्थिरताले विकास दिन्छ । देशमा राजनैतिक स्थिरता बलियो भएमात्र राजनैतिक शक्ति र एउटै राजनैतिक दलको बहुमत प्राप्त सरकारबाट सम्बोधन हुन सक्छ । यसको पहलकदमी नेकपा एमालेले लिइरहेको छ । आ–आफ्नो सक्दो क्षेत्रबाट सहयोग गरौँ ! यसनिम्ति एकाकार र एकताबद्ध हुन आवश्यक छ । अनुरोध र अपीलसहित अभिवादन ।

(पाल्पाली लेखक पराजुली एमालेसम्बद्ध प्रवासी नेपाली संघ भारतको सचिवालय सदस्य हुन् ।)