
हेटौंडा, ३ फागुन । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १–० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुवात गरेको छ ।
बागमतीको जितमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३औं मिनेटमा निर्णायक गोल गरे । घिसिङ खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ७ र मोफसलका तीन टिमको सहभागिता छ । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।








प्रतिक्रिया