५ असार २०८३, शुक्रबार

संविधान संशोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संविधान संशोधन अपरिहार्य भएको बताएका छन् । शनिबार संविधान संशोधनसम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा संविधान संशोधन नभए संविधान नै नबाँच्ने उनको भनाइ थियो ।

उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ । किनभने संविधान निर्माण गरिरहेका बेला माओवादी एउटा निर्णायक शक्तिका रुपमा थियो । त्यो बेला संविधानमा रहेका असन्तुष्टि र असहमतिहरु अहिले आएर व्यक्त हुन थालेका छन् । नेपालमा जुन संविधान संशोधन भएको छैन, संशोधन नभएको संविधान बाँचेको इतिहास छैन् । समय अनुसार परिवर्तन हुनुपर्छ । संविधानलाई बचाउन पनि समयअनुसार परिवर्तन गरेर संशोधन गर्नैपर्छ ।’ साथै, उनले संविधान संशोधन हुने कुरा त्यति सहज नभएको बताए । उनले अध्यादेशलाई नै लिएर संसदमा विरोध भइरहेकाले संविधान त्यति सहजताका साथ संशोधन नहुने बताए ।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक’

यसैगरी, पूर्वसञ्चारमन्त्री रेखा शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिने बताएकी छन् । उनले निर्वाचनमा उत्पीडित समुदायका मानिसहरु चुनाव लड्न नसक्नु नै निर्वाचन प्रणालीको समस्या भएको बताइन् ।

उनले भनिन्, ‘संविधान भनेको देशको मूल कानून हो । मूल कानून आफैमा कार्यान्वयन हुँदैन । यसलाई अरु कानून बनाएर कार्यान्वयन गराउनुपर्छ । कानून बनाएर कार्यान्वयन गर्ने कुराको प्रक्रिया नै हामीले पूरा गरेका छैनौँ । समान अधिकारको कुरा संविधानमा लेख्यौँ तर आजसम्म पनि दृढतापूर्ण कानून नबन्दा समाजमा त्यो कार्यान्वयन भइरहेको छैन । राजनीतिक अस्थिरताका कारण पनि संविधान संशोधन हुनुपर्छ । यसका साथै निर्वाचन प्रणाली पूर्ण प्रत्यक्ष बनाउनुपर्छ, संविधान संशोधन गरेर नै पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । निर्वाचनमा उत्पीडित समुदायका मानिसहरु चुनाव लड्न नसक्नु नै निर्वाचन प्रणालीको कमजोरी भयो ।’ साथै, उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आफ्नो दलको माग समेत रहेको बताइन् । उनले चुनाव नै विकृतिपूर्ण बन्दै गएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिने बताइन् ।

यसैगरी, रास्वपाका सांसद सन्तोष परियारले दुईवटा पार्टी एक ठाउँमा आउँदैमा संविधान संशोधन नहुने बताएका छन् । सोही कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्नका लागि सबै दलहरु एक ठाउँमा बसेर गहन छलफलपछि मात्र संशोधन हुने बताए ।

उनले भने, ‘हाम्रो प्रवृत्ति स्थायी छैन् । राजनीतिक संस्कार नै स्थायी छैन् । दुई वटा पार्टी एक ठाउँमा आउँदैमा संविधान संशोधन हुँदैन् । दुईवटा पार्टी एक ठाउँमा आउँदैमा संविधान संशोधन हुने कुरा सम्भव छैन । तर व्यापक छलफलमा गरेर जानुपर्छ । अरुलाई तिरस्कार गरेर होइन हाम्रा अप्ठ्याराहरु स्वीकारेर एक ठाउँमा पुग्यौँ भने संविधान संशोधन हुन्छ ।’ उनले संविधानमा समावेशिता भएपनि जातकै कारणले दलितहरुले दुख पाएको बताए ।

उनले भने, ‘जातकै कारणले दलितहरुले दुःख पाएका छन् । जात र जाति मात्रै होइन समावेशी भन्ने छ तर दुःख पाएको जातले नै छ । यो सबैले स्वीकार्नु नै पर्छ । समावेशी भन्नाले महिलाको मात्र होइन, अन्य फरक लैङ्गिक पहिचानको कुरा पनि हो । तर समावेशितामा महिला बढी मारमा परेको चाहिँ हो । ’