२९ जेष्ठ २०८३, शुक्रबार

देश र जनताको हितमा रहेको अध्यादेश दुवै सदनबाट पास हुन्छ : प्रदीप ज्ञवाली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ३ फागुन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेश दुवै सदनबाट पास हुने बताएका छन् ।

राजविराजस्थित पार्टी कार्यालयमा प्रेस चौतारी नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले अध्यादेश देश र जनताको हितमा भएकाले दुवै सदनबाट पास हुने बताए । सरकारले ल्याएको अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको केही बुँदामा सत्ता साझेदार दलहरु असन्तुष्ट देखिए पनि उनीहरुको जायज मागलाई प्रतिस्थापन विधेयकमार्फत सम्बोधन गरिने उपमहासचिव ज्ञवालीले बताए ।

‘अध्यादेशको तथ्यमाथि आधारित भएर हेरियो भने त्यसको विरोध गर्ने ठाउँ छैन’ उपमहासचिव ज्ञवालीले भने, ‘उत्पीडित भूमिहिनहरुको पक्षमा रहेको दलहरुले अध्यादेशको विरोध गर्दैन ।’ असन्तुष्ट दलहरुसँग कुरा भइरहेको समेत उनले बताए ।

देशमा ४ लाख भन्दाबढी भूमिहिन जनताको समस्या समाधान गर्न अध्यादेश ल्याइएको उल्लेख गर्दे उनले अध्यादेशको विरोध गर्नेहरु सरकारको नभइ भूमिहिनको हक अधिकारको विरोध गरिरहेको बुझ्नुपर्ने बताए ।

देशमा राजनैतिक स्थिरताका लागि बनेको एमाले–कांग्रेसको सरकारले आर्थिक सुधार र जनतामा रहेको निराशा हटाउन काम गरिरहेको ज्ञवालीले बताए । सहकारी क्षेत्रमा रहेको बेथितिविरुद्ध सरकारले हस्तक्षेप सुरु गरेकाले १४ हजार सहकारीपीडितको एक अरब ५७ करोड बचत सरकारले फिर्ता गराएको र अरु पनि फिर्ता हुने क्रममा रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।