
–अन्जनी कुमार अधिकारी
उदयपुर, ३ फागुन । उदयपुरमा १८ हजार बढी किशोरीले पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार उदयपुरको आठ पालिकाका १८ हजार ३ सय ८९ किशोरीले एचपीभी खोप लगाएका छन् । यो लक्ष्यको ९१ प्रतिशत हो ।
सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार उदयपुरमा ६ देखि १० कक्षासम्म सञ्चालित २ सय ८३ माध्यमिक विद्यालय, ९२ स्वास्थ्य संस्था र बाह्य खोप केन्द्र २१ वटा गरी कुल ३ सय ९६ खोप केन्द्रबाट १८ हजार ३ सय ८९ किशोरीहरुले पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी खोप लगाएका हुन् ।
उदयपुरमा २० हजार १ सय २२ जना किशोरीहरुलाई एचपीभी खोप लगाउने लक्ष्य लिएकोमा १८ हजार ३ सय ८९ किशोरीहरुले खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिरञ्जीवी निरौलाले जानकारी दिए । जिल्लामा पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान उत्साहजनक तरिकाले सञ्चालन भएको थियो ।
गत माघ २२ गते विश्व क्यान्सर दिवसका दिन सुरु भएको खोप अभियान फागुन २ गतेसम्म सञ्चालन भएको थियो ।









प्रतिक्रिया