२२ असार २०८३, सोमबार

अबको समय विकास र समृद्धिको : महासचिव पोखरेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अबको समय मुलुकको विकास र समृद्धिको समय भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनको बन्द सत्रलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले सुशासन र सेवा प्रवाह विकास र समृद्धिका महत्त्वपूर्ण विषय भएको बताए । ‘विकास र रूपान्तरणका कामको तीव्रता राज्यको कर्तव्यका रूपमा रहेन गर्दछ, निजामती कर्मचारी क्षेत्रले त्यो काममा राज्यलाई सफल बनाउने कि असफल बनाउने भन्ने भूमिका हुन्छ’, महासचिव पोखरेलले भने । अहिले सुशासन, विकास आयोजनाको तीव्रता लगायतका विषयमा प्रश्न उठिरहेको बताए । ‘समग्रतामा भन्दा राज्य प्रभावकारी भएन भन्ने प्रश्न उठेको छ’, पोखरेलले भने ।

सरकारले यसलाई सम्बोधन गर्न कानुनी सुधारको काम सुरु गरेको महासचिव पोखरेलले बताए । यसका लागि संरचनागत सुधार पनि त्यतिकै आवश्यक रहेको पोखरेलले प्रष्ट पारे । यस कुरालई निजामती कर्मचारीले राम्रोसँग बुझेकाले समस्याको समाधान पनि उनीहरूले दिन सक्ने पोखरेलको धारणा छ ।

राजनीतिक स्थायित्वको अभावमा राजनीतिक अस्थिरताको कारण जनतामा निराशा बढ्दै गएको उनले बताए । यसले गर्दा काम गर्ने वातावरण नबनेको गुनासो पनि त्यतिकै आएको पोखरेलले सुनाए । मुलुकको आर्थिक अवस्था कमजोर हुँदा पेसाकर्मीले पाउने सुविधा पनि अति न्यून भएको पोखरेलले बताए । यी सबै समस्याको समाधान मुलुकलाई समृद्धि तर्फ लैजाँदा मात्र हुनसक्ने पोखरेलको धारणा छ ।

विकासका रोकिएका कामलाई तीव्रता दिने र राजनीति स्थायित्व दिने उद्देश्यका साथ देशका प्रमुख दुई दल अहिले एक ठाउँमा उभिएको महासचिव पोखरेलले बताए । त्यही अनुसारका काम सरकारले अघि बढाएको उनले बताए । तर जसरी अघि बढ्नु पर्ने हो त्यस अनुसार अघि बढ्न नसकिएको उनले बताए । ‘अहिले पनि अस्थिरतामा रमाउन चाहनेहरू देशलाई अस्थिरतामा लैजानका लागि प्रधानमन्त्री केपी ओलीमाथि आक्रमण गरिरहेका छन्, नेकपा (एमाले)विरुद्ध अहिले पनि आक्रमणको अभियान चलिरहेको छ’, उनले भने ।

महासचिव पोखरेलले मुलुकलाई सही दिशामा अघि बढाउनु सबैको कर्तव्य भएको बताए । एमालेले बलियो राष्ट्रिय शक्ति बन्नको लागि वडा केन्द्रित अभियान सुरु गरेको पनि उनले जानकारी दिए । राजनीतिक दलहरू एक्ला एक्लै चुनाव लड्दा सबैभन्दा ठूलो दलले सरकार बनाउन सक्ने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने स्थिति बन्ने उनले बताए । त्यही तयारीका साथ २०८४ को निर्वाचनमा कांग्रेस र एमालेले कसैसँग पनि नमिली चुनाव लड्ने तयारी गरेको पोखरेलको भनाइ छ ।

‘आउने निर्वाचनमा हामी एक्ला एक्लै स्वच्छ प्रतिस्पर्धा गर्छौँ’, महासचिव पोखरेलले भने । देश बनाउन सक्ने राजनीतिक शक्तिलाई एकल बहुमतसहित सरकारमा पुर्‍याउनु अबको आवश्यकता रहेको उनले बताए । यसले राष्ट्रको भविष्यलाई उज्यालो बनाउने महासचिव पोखरेलको धारणा छ ।