
–अन्जनी कुमार अधिकारी
उदयपुर, १ फागुन । हावाहुरीको सिजन (प्रि–मनसुन) सुरु हुनै लाग्दा उदयपुरमा हुनसक्ने वन डढेलो र आगलागीका घटना न्यूनीकरणका लागि पूर्व तयारी तीव्र पारिएको छ । जिल्लामा गत वर्ष १९ सामुदायिक वन क्षेत्रको १ सय ९२ हेक्टर वनमा डढेलो लागेको थियो भने चुरे रेन्जको ४५ हेक्टर र महाभारत रेन्जको ५० हेक्टर गरी कुल २ सय ८७ हेक्टर वनमा डढेलो लागेको थियो ।
गत वर्ष हावाहुरीसँगैको आगजनी र डढेलोका कारण ३२ चौपाया, ४४ घर र ३१ गोठमा क्षति पुग्दा लाखौँको क्षति भएको थियो । अहिले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले प्रि–मनसुन सुरु हुनै लाग्दा वन डढेलो र आगलागीका घटना न्यूनीकरणका लागि पूर्व सावधानी अपनाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार वनडढेलो र आगलागीका घटना नियन्त्रणका लागि जिल्लास्थित तीनै वटा सुरक्षा निकाय परिचालन हुनेछ । अहिले पूर्व तयारी स्वरूप जिल्लाका सबै सामुदायिक वनमार्फत जनचेतना फैलाउने कार्य भइरहेको छ भने वन क्षेत्रमा लाइटर जन्य पदार्थ बोकेर प्रवेश गर्न रोक लगाइएको छ । वन क्षेत्रमा कसैले डढेलो लगाउने प्रयास गरेको पहिचान भए कानुन अनुसार कारबाही गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले सुरु गरेको छ ।
जिल्लामा सबैखाले पूर्व सावधानी अपनाउने कार्ययोजना तयार गरिएको भएपनि वनडढेलो र आगलागीका घटना न्यूनीकरण गर्न आवश्यक स्रोत साधन भने प्रयाप्त छैन ।
डिभिजन वन कार्यालय गाईघाट उदयपुरले यसवर्षदेखि हरेक सामुदायिक वनलाई डढेलो नियन्त्रणका लागि आवश्यक रकम विनियोजन गर्न आग्रह गरेको छ । कार्यालयले जिल्लास्थित विपत् व्यवस्थापन समितिसँग पूर्व तयारीका लागि आवश्यक समन्वय गरिरहेको समेत जनाएको छ ।
प्रि–मनसुन सुरु हुनै लाग्दा वन डढेलो र आगलागीका घटनाबाट हुनसक्ने घटनाबाट विस्थापितहरुलाई पुनर्स्थापना गर्न सम्बन्धित सामुदायिक वनहरुसँग आवश्यक समन्वय समेत गरिएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरका फोकल पर्सन जागेश्वर साहले जानकारी दिए । उनका अनुसार डढेलो र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय सञ्चारमाध्यममार्फत सचेतना मुलक सामाग्री समेत तीव्र रुपमा प्रचारप्रसार गरिएको छ भने आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रण गर्न आवश्यक पर्ने एप्रोन समेत लगाएर वन कर्मचारी फिल्डमा खटिने तयारी गरिएको छ ।
जिल्लामा वनडढेलो र आगलागीका घटना नियन्त्रणका लागि आवश्यक ५ वटा दमकल रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जानकारी दिएको छ । जसअनुसार जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा दमकल (टेन्कर) रहेको छ । जिल्लामा २९ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । यस वर्षको प्रि–मनसुन सुरु हुनै लाग्दा जिल्लामा संघीय सरकार र प्रदेश सरकारले भने घटना रोकथाम लागि आवश्यक सामाग्री अहिलेसम्म उपलब्ध गराएका छैनन् ।








प्रतिक्रिया