
–अन्जनी कुमार अधिकारी
उदयपुर, १ फागुन । उदयपुरमा ३० जना महिलाहरुले पञ्चेबाजाको तालिम लिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित संगमटोलमा एक महिना अघिदेखि सञ्चालित पञ्चेबाजा तालिममार्फत ३० महिला लाभान्वित भएका हुन् ।
झिगु नेवा पुचः उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा गत पुस २७ गतेबाट सञ्चालित पञ्चेबाजा तालिममा त्रियुगा नगरपालिका भित्रका ३० जना गरिब तथा विपन्न परिवारका महिलाहरु सहभागि रहेका थिए ।

एक महिना सञ्चालित पञ्चेबाजा तालिमको बिहीबार एक कार्यक्रमकाबीच त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले समापन गरे । तालिममा सहभागि महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
पञ्चेबाजा तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले समाजबाट लोप हुँदै गएको परम्परा संस्कृति र संस्कारलाई जोगाउन एवम् भावी पुस्तालाई परम्परागत संस्कृतिको बारेमा जानकारी दिनुका साथै गरिब तथा विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन यो तालिमले सहयोग पुग्ने बताए । उपप्रमुख महेश्वरी राईले महिला दिदीबहिनीहरुको नेतृत्व विकास तथा सामाजिक काममा अग्रसरता बढाएर आत्म निर्भर बनाउन र लोपोन्मुख संस्कार संस्कृति जगेर्नाका लागि पनि यो पञ्चेबाजा तालिमले महत्वपूर्ण मद्दत गर्ने बताइन् ।
पञ्चेबाजा तालिमका प्रशिक्षक तथा पूर्वप्रहरी सेवाका सिपाही रामचन्द्र सेवाले नेपालीहरुको पुरानो संस्कृति अहिले आधुनिक प्रविधिका कारण लोप हुँदै गएकाले यो तालिममा परम्परागत बाजाका साथै नृत्य गीत, संगीत र भजनसँग मिल्दो जुल्दो बाजा बजाउन प्रशिक्षण दिइएको बताए ।
झिगुः नेवा पुचःका सचिव गोपाल श्रेष्ठले तालिममा त्रियुगा नगरपालिकाका गरिब तथा विपन्न वर्गका ३० जना युवा महिलाहरुलाई यो तालिम दिइएको जानकारी दिँदै तालिममा सहनाई, नरसिंह, कर्नाल, दमाहा, ट्याम्को, ढोलकीलगायतका बाजा बजाउन र बाजाको तालमा नृत्य र गीत गाउन पनि सिकाएको बताए ।
कार्यक्रममा तालिममा सहभागि महिलाहरुले तालिम लिएपछि सिकेको सहनाई, कर्नाल, नरसिंह, ढोलकी, ट्याम्को र दमाहा बजाएर सीप अनुसार बाजा बजाउँदै गीत गाएर नृत्य पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेवारी संस्कार संस्कृति झल्कने खालका परम्परागत पहिरनमा सजिएका नेवार, क्षत्री, ब्राह्मण तथा अन्य जातजातिहरुको बाक्लो सहभागिता रहेको थियो ।








प्रतिक्रिया