२ असार २०८३, मंगलबार

नेपालमा केही भएन र भएको छैन भन्ने कुरा तथ्यहीन : महेश बस्नेत

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० माघ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपालमा केही भएन र भएको छैन भन्ने कुरा तथ्यसङ्गत नभएको बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले नेपालले आर्थिक र सामाजिक क्षेत्रमा निक्कै प्रगति गरेको बताए । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालको प्रगति लोभलाग्दो छ, तर भ्रम फिँजाउनेहरूले केही भएको छैन भन्ने प्रचार गरिरहेका छन्’, उनले भने ।

बस्नेतले स्वास्थ्य क्षेत्रमा अहिले पनि केही विकृति रहेको बताउँदै त्यसमा सुधार गर्दै जानु पर्ने बताए । कतिपय सरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीले निजी अस्पतालसँग सेटिङ गरेर सरकारी अस्पताललाई कमजोर बनाउने काम गरिरहेका बताउँदै बस्नेतले यसलाई सुधार गरेर जानु पर्नेमा जोड दिए ।

नेपालको संविधानले नै नागरिकको स्वास्थ्य, शिक्षा, खाद्य लगायतका अधिकार व्यवस्था गरेको उनले बताए । त्यसैले यसलाई सम्बोधन गर्नु राज्यको दायित्व भएको बस्नेतले प्रष्ट पारे । अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर समाजमा भाँडभैलो मच्चाउने प्रयास गरिएको बताउँदै बस्नेतले त्यसैलाई रोक्ने सकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक ल्याएको बताए । अहिले केही अराजकहरू त्यसकै विरुद्ध उत्रिएका भन्दै उनले आलोचना गरे ।

युवालाई देशमा रोजगारीको लागि प्राविधिक शिक्षामा जोड दिनु पर्ने उनको धारणा छ । त्यसकै लागि सिटिइभिटी, राष्ट्रिय युवा परिषद्, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतका निकायहरू स्थापित भएको उनले स्पष्ट पारे ।

युवालाई २ करोडसम्म प्रमाणपत्र वा परियोजना राखेर ऋण दिने योजना सरकारले ल्याएको बस्नेतले बताए । नेपालका बैंकले ठगलाई धरौटी राख्न पैसा दिने तर स्वरोजगारी गर्छु भन्ने युवालाई पैसा नदिने गरेका भन्दै उनले आलोचना गरे ।उनले युवा पुस्ताले धेरै विवेक प्रयोग गर्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जाल हेरेर कुनै पनि विषयमा धारणा बनाउनु नहुने उनको धारणा छ । युवाले गलतलाई गलत र सहीलाई सही भन्नु पर्नेमा बस्नेतले जोड दिए ।