
सिरहा, २८ माघ । सिरहाको लहानमा गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।
आइतबार साँझ सैयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो । उनीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण र अध्यावधिक गर्न माग गरेका छन् ।
संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ । समस्याले गर्दा हजारौं नगरवासीहरु ५० वर्ष भन्दा पहिलेदेखि पीडामा परेको उनको भनाइ छ ।
‘यहाँ वर्षौंदेखि बसोबास गरेका स्थानीयहरुको केही जग्गा गाउँ ब्लकमा छ । जसमा घरहरु छ । केहीलाई निस्सा वितरण गरिएको छ । लालपुर्जा पनि दिएको छ तर, अध्यावधिक नहुँदा किनबेच र बैंक राखेर आफ्नो काम गर्न पाएको छैन,’ संयोजक केसीले भने, ‘सबै समस्या समाधान नभए सम्म हामी आन्दोलन रोक्दैनौँ ।’ करिब ७ हजार बढीको जग्गा पनि नापी नभएको उनले सुनाए ।
मालपोत र नापी कार्यालयको ढिलासुस्तीले गर्दा अहिले सम्म यो समाधान हुन नसकेको कांग्रेस लहान नगर सभापति संजय यादवको भनाइ छ । सबै पार्टीका राजनीतिक दलले जनताको जग्गाको समस्या समाधानका लागि आन्दोलनलाई समर्थन गरेको उनले बताए ।
आफ्नो वडाको केही मानिसहरुको गाउँ ब्लक जग्गामा घर हुदाँ उनीहरु पीडामा देखेर आफुपनि आन्दोलनमा समर्थन गरेको लहान–६ का वडा अध्यक्ष रमेश गौतमले बताए ।
‘गाउँ ब्लक जग्गा फुकुवा नहुदाँ नगरवासी समस्या छ । हामीले पटक पटक पहल गर्दा पनि दुर्त गतिमा काम नभएर समाधान हुन पाएको छैन,’ लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले भने, ‘नगरबाट हुने सबै कामका लागि सहयोग गर्न तयार छौँ । मालपोत र नापी कार्यालयले यसमा ध्यान पुगाउनुपर्छ ।’ यो समस्या समाधान गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया