१७ असार २०८३, बुधबार

मकुनाको मृत्युबारे छानबिन गर्न गठित समितिले काम थाल्यो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ माघ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना)को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ ।

समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिए । ‘मकुनाको मृत्यु सम्बन्धमा शुक्रबार छानबिन समिति बनेको थियो । बीचमा बिदा भएकाले आइतबारदेखि काम सुरु गरेका छौँ,’ उनले भने, ‘सोमबार स्थलगत अध्ययन गर्दैछौँ ।’

छानबिन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । ‘चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,’ सहसचिव डा. पौडेलले भने । होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो आएकाले होटल तथा हात्ती व्यवसायीलाई भेट्ने उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर यही माघ २३ गते मकुनाको मृत्यु भएको थियो । वन मन्त्रालयले सात दिनभित्र घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्न माघ २५ गते छानबिन समिति बनाएको थियो ।

सहसचिव डा. पौडेलको नेतृत्वमा बनेको पाँच सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा. दिनेश शाह रहेका छन् ।